कन्याम(इलाम) । नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तब्यमा समेटिएको इलामको कन्यामले थप स्वरुप बदलेको छ ।
नागबेली र मिलेका डाँडामा फैलिएको चियाबारी बीचमा रहेको मेची राजमार्गको थप स्तरोन्नती भएपछि कन्यामले स्वरुप बदलेको हो । सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामको लगानीमा सडक फराकिलो बनाइ चिरिच्याट्ट बनाएपछि कन्यामको सुन्दरता थप चम्किएको हो ।
कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार बदलेको हो । त्यहाँ आसपास पनि पूर्वाधार निर्माणको काम भएको छ । पर्यटक भूल्याउन विभिन्न आकर्षणहरु थपिएको छ ।
सडकको स्तरोन्नति र रंगरोगन गरिएपछि कन्यामको सुन्दरतामा थप रौनक आएको हो । कन्याम चम्किएपछि फोटो, भिडियो खिच्ने र टिकटक बनाउने लहर नै चलेको छ । निषेधाज्ञा भए पनि फेरिएको कन्याम घुम्नेहरुको संख्या बढेको छ ।
त्यहाँ अहिले पर्यटकहरुका लागि पथमार्ग, घोडचढीका लागि घोडचढी मार्ग, ठेला पसल अर्थात उपहार ,पोशाक र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको स्थानीय पर्यटन व्यवसायी टेकराज गिरीले जानकारी दिए ।
उनले भने, यस क्षेत्रमा बिस्तार भएको सडकलाई सडक मार्किङ गरेपछिको यसलाई हजारौं व्यक्तिहरुले मन पराइ सामाजिक संजालहरुमा भाइरल बनाइ विश्वभर चिनाइरहनुभएकाले हामीलाई थप हौसला मिलेको छ ।’ तर निर्माण सकिएलगत्तै सडक भत्किएको र खाल्डाहरु देखिएकाले नगरपालिकालाई आफूहरुले जानकारी गराइसकेको उनले बताए ।
कन्यामदेखि फिक्कलसम्म सडक फराकिलो बनाउँदै सौन्दर्यीकरण गर्न करिब १० करोड रुपैयाँ बजेटमा काम भइरहेको नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकासँगै संघीय सरकार र सडक डिभिजन कार्यालय इलामले पनि समन्वय गरेको हो ।
नेपालको पूरानो चिया बगानमध्येको कन्याम चिया पर्यटनका लागि पनि उत्कृष्ट मानिन्छ । तर सांघाइ ग्रुपले लिजमा लिएर संचालन गरिरहेको बगान मासेर नगरपालिकाले भौतिक संरचना निर्माण गरेको र चियाका बुट्टाहरुमा क्षति पुर्याएकोमा आपत्ति जनाउँदै आएको छ ।