संरक्षणका नाममा ऐतिहासिक लाप्चा गुम्बाको अस्तित्व संकटमा, ‘गुम्बा नै ढल्ने गरी डोजर चलाइयो’
प्रकाशित २०७७ चैत ८ आइतबार
175
Shares
काठमाडौं । इलामको सूर्योदय नगरपालिका-१० फिक्कलमा रहेका लोपोन्मुख लाप्चा जातिको ऐतिहासिक गुम्बा संरक्षणको नाममा अस्तित्व मेटिन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
करिब सय बर्ष भन्दा पुरानो फेन्सोलिङ गुम्बाको क्षेत्रमा सूर्योदय नगरपालिकाले ‘हेव्भि इक्युपमेन्ट’ प्रयोग गरेर पार्क बनाउन शुरु गरेपछि स्थानीयले विरोध गरेका हुन् । डोजर चलाएर गुम्बाको बलेसीसम्म खन्ने काम शुरु गरेपछि स्थानीय लाप्चा समुदायका युवाहरुले काम रोकेर गुम्बा संरक्षणमा ध्यान दिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारको बजेटमा पार्क बनाउने भन्दै गुम्बा नजिकका पुराना आयुका रुखहरु कटना गरिएको स्थानीय युवाहरुको भनाइ छ । स्थानीय छेप्पल लाप्चाले भने ‘राम्रो काम हुन लागेको होला भन्ने ठानेका थियौं गुम्बा नै लड्ने गरी डोजर चलेपछि मात्रै हाम्रो आँखा खुल्यो ।’
इलाममा लाप्चा समुदायको दुईवटा मात्रै गुम्बा रहेको छेप्पल लाप्चाले बताए । उनले स्थानीय लाप्चा अगुवाहरुले समेत समूदायसंग पर्याप्त छलफल नगरी संरक्षण गरिनुपर्ने ठाउँमा दोहन शुरु गरेको बताए ।
संरक्षणको अभावमा बर्षौंदेखि अलपत्र गुम्बाको संरक्षणको साटो आसपासको गुम्बाको अस्तित्वमै आँच आउने गरि शुरु गरिएको निर्माण कार्यले सबैलाई चिन्तित बनाएको नेपाल आदिवासी जनजाती महासंघ सूर्योदय समितिका अध्यक्ष सोनाम योल्मूले बताए ।
उनले भने ‘सरकारको प्राथमिकतामा सबैभन्दा पहिले गुम्बा संरक्षण पर्नुपर्छ तर यहाँ त्यस्तो भएन ।’ पुरातत्व विभाग लगायतका सरोकारवालाले पनि धर्मिक क्षेत्र अतिक्रमणको घटनालाई तत्काल चासो दिनुपर्ने माग गरे ।
क्षतिग्रस्त गुम्बा भग्नावशेषमा परिणत भए गुम्बाको भित्तामा पोतिएका कलाकृति समाप्त हुने खतरा छ । यसले लाप्चा समुदायको ऐतिहासिक कलाकृति लोप हुने खतरा छ । भुकम्पले भत्काएपछि गुम्बा संरक्षणका लागि लगाएको वाल समेत भत्किएको छ ।
भित्तामा बनाइएका चित्रहरु झर्न थालेका छन् । छेप्पलले भने ‘वरीपरिका रुख काटिएपछि अब आउने हुरीले गुम्बा ढाल्ने खतरा बढेको छ ।’ सूर्योदय नगरपालिकाले गुनासो गर्न पुगेका स्थानीयलाई अर्को बर्षको बजेटमा गुम्बा संरक्षणको रकम राख्ने भन्दै फर्काएको उनले बताए ।
१९९० र २०४७ सालको भूकम्पले चर्काएपछि बनाइएको गुम्बालाई २०६८ असोज १ र २०७२ साल वैशाख १२ को भूकम्पले थिलथिलो बनाएको छ । पूर्णरुपमा क्षतिग्रस्त गुम्बासँगै नेपालकै लोपोन्मुख लाप्चा जातिको एकमात्र ऐतिहासिक साँस्कृतिक सम्पदासमेत समाप्त हुने खतरा बढेको लाप्चा समुदायको चिन्ता छ ।
गुम्बामा लाप्चा समुदायको जन्म देखि मृत्युसम्मको संस्कार हुने गरेको छ । प्राचिन शासक भनेर चिनिने लाप्चा समुदायले गुम्बालाई आफ्नो शक्तिपीठका आधारमा प्राचिनकालदेखि पूजा गर्दै आएको छेतेन लाप्चा बताउँछन् ।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले गुम्बाको समितिसँगको सम्झौता अनुसार नै काम भएको बताए । उनले अहिले रुख काटिएपनि स्थानीय प्रजातिको बुट्यान लगाउने कार्यक्रम रहेको बताए । उनले लाप्चा गुम्बाको सरक्षणका लागि पुरातत्व विभागसंग समन्वय गरिरहेको बताए ।