बर्खा लागेसँगै सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
769
Shares
सर्लाही । बर्खा लागेसँगै सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् । केही दिन यता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे पाखाका गोरेटो बाटोहरू अवरुद्ध भएका हुन् ।
सडक नपुगेको चुरे भेगका नागरिक हरेक सालको बर्खा यामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्व-पश्चिम राजमार्गमा पर्ने बागमती,हरिवन लालबन्दी, र इश्वरपुर नगरपालिकाको उत्तरी चुरेमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवात जावत गर्न समस्या हुने लालबन्दी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेको भनाइ छ ।
ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२, मा पर्ने पिपल दमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ को शीरकालिन्जोर, तीन तले, भित्री खोला, लाल बन्दीकै वडा नम्बर १४ नारायण खोला, वडा नम्बर १२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिकाको वडा नम्बर १ र ८ का चुरे बस्ती तथा बाग्मती नगरपालिकाको १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक पानीले बिगारेको स्थानीय बासिन्दाले बताएका छन् ।
खोलाको बगर एवं चुरे पहाडका गोरेटो बाटो ठाउँ-ठाउँमा बिग्रिदा पानी पँधेरो गर्नदेखि बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको हरिन नगरपालिका-१ धिमिलेका स्थानीय सन्त राईले गुनासो गरे । खोलामा बाढी आउँदा चुरेका बासिन्दालाई बर्खा याममा एक वस्तिबाट अर्को बस्ती सम्म जान मुस्किल पर्छ ।
हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो केही स्थानीय तह र गाउँले आफै र खोलाको बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गरी हिँडडुल गर्न मिल्ने र हल्का सवारी साधन चल्न सक्ने बनाउने गरेका छन् । जेठ महिनाको अन्तिम साता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू बस्तीमा बाढी पस्ने डरले त्रसित भएका छन् ।
अघिल्लो वर्षको बर्खामा बागमती,लखन देही,फूल जोर खोलाको बाढीले सैयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो । बर्षायाममा बाढीका कारण आइपर्ने बिपद व्यवस्थापनमा कुनै पनि स्थानीय तहले प्रयास समेत नगरेको स्थानीयको गुनासो छ ।