नबिल बैङ्क शुक्रवारदेखि सोमवारसम्म बन्द रहने, अत्यावश्यक परे के गर्ने ?
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
287
Shares
काठमाडौँ। नबिल बैङ्कले विभिन्न सेवाहरू असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवारसम्म बन्द रहने जनाएको छ। बैङ्कले शुक्रवार अपराह्न ४ बजेदेखि सोमवार बिहान ९ बजेसम्म बैङ्कका सम्पूर्ण शाखाहरू, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, एटिएम, कार्ड (क्रेडिट, प्रिपेड कार्ड बाहेक), रेमिटेन्स लगायतका सेवाहरू एवं सम्पूर्ण बैङ्किङ कारोबारहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ।
बैङ्कको कोर बैङ्किङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले सम्पूर्ण बैङ्किङ कारोबारहरू पूर्ण रूपमा बन्द रहने बैङ्कले जनाएको छ। यसबाट पर्न जाने असुविधाप्रति बैङ्कले ग्राहक वर्गमा क्षमासमेत मागेको छ।
बैङ्किङ कारोबारहरू बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रूपमा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको छ।
बैङ्कले थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१–५९७००१५ मा तथा बैङ्कको वेबसाइटमा उल्लेख गरिएका शाखा प्रबन्धकहरूलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।