नबिल बैङ्कको 'हिरोज् अफ नेपाल' मा शेफ सन्तोष शाह सम्मानित
प्रकाशित २०७७ चैत १२ बिहिबार
199
Shares
काठमाडौँ। नबिल बैङ्कले 'हिरोज् अफ नेपाल' मा शेफ सन्तोष शाहलाई सम्मान गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरूलाई सम्मान गर्ने मञ्चको रूपमा नबिल बैङ्कले 'हिरोज् अफ नेपाल' को दोस्रो संस्करणमा शाह सम्मानित भएका हुन्। यस्तै, नबिल बैङ्कले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता गरेको बैङ्कले जनाएको छ।
शेफ सन्तोष शाहले युकेको मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन्।
राजधानीमा भएको कार्यक्रममा शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबिचको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरेका थिए। सो कार्यक्रममा बैङ्कको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिति थियो।
नबिल बैङ्कले आगामी दिनहरूमा यस शृङ्खलालाई निरन्तरता दिने र युवाहरूलाई आफ्नो जीवनमा केही ठुलो काम गरिरहन उत्प्रेरित गरोस् भन्ने विश्वास लिएको छ।