arrow

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमको कांग्रेसद्वारा विरोध, गर्‍यो वहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं। काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल बिनै ल्याउन लागिएको भन्दै नेपाली काँग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।

मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन्  ।

कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनुपर्नेमा मेयर शाक्यले कुनै पनि छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उनको भनाइ छ । 

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ ।’

खड्कीले विगतदेखि नै आफूले महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताइन् । महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको उनको भनाइ छ । 

महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषद्मा पेश गर्दैगर्दा काँग्रेसले परिषद् बहिस्कार गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट निर्वाचित अध्यक्ष मुकुन्द रिजालले पार्टीको बैठक बसेर नगरपरिषद् बहिस्कार गर्ने निर्णय भएको बताए ।

रिजालले कोभिडको महामारीबाट आक्रान्त जनतालाई राहत दिनेगरी काठमाडौंको नीति कार्यक्रम आउनुपर्नेमा एकलौटी गर्न खोजिएको आरोप लगाए । नीति तथा कार्यक्रममा घरबहाल करमा छुट दिनुपर्ने, विकास समानुपातिक रुपमा हुनुपर्ने, सबै नागरिकलाई खोपको प्रत्याभूति हुनुपर्ने, उपचारको सहज व्यवस्था हुनुपर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ । आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी हुन नसकिने रिजालको भनाइ छ । महानगरमा काँग्रेसबाट उपमेयर र १४ जना वडाध्यक्ष रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ