काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको छ ।
यो सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम रु. २ लाख उपभोग गर्न सक्ने बैंकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।
मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने विज्ञप्तिमार्फत बैंकले जनाएको छ ।
कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु नपर्नेसमेत बैंकले जानकारी दिएको छ ।
कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने पनि जनाएको छ ।