मेगा बैङ्कका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलाइन्सको विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
665
Shares
काठमाडौँ। टर्किस एयरलाइन्सले मेगा बैङ्क नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ।
मेगा बैङ्क नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैङ्कका ग्राहकहरूलाई टर्किस एयरलाइन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो।
सम्झौता अनुसार, टर्किस एयरलाइन्सले मेगा बैङ्कका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडा दरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ। यो छुट टर्किस एयरलाइन्सको काठमाडौँबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ।
यो सम्झौताबाट मेगा बैङ्कका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैङ्कको विश्वास छ। नवीनतम बैङ्किङ सुविधाका साथसाथै मेगा बैङ्कले अस्पताल, रेस्टुरेन्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ।