arrow

नेपालमा भेटिएको नयाँ भेरिअन्टको अनुसन्धान हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
corona-variant.jpg

काठमाडौं । जापान, भारतलगायतका देशमा यसअघि नै फेला परिसकेको कोरोना भाइरसको अर्काे भेरिअन्ट नेपालमा पनि फेला परेको छ । हाल नेपालमा कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी सक्रिय रुपमा रहेको छ । यसै भेरिअन्टको स्वरुप परिवर्तन गरेको नयाँ भेरिअन्ट के ४१७ एन फेला परेको हो ।

यो भेरिअन्ट अहिले विश्वका १० भन्दा बढी देशमा फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

नेपालमा देखिनु अगाडि जापान र भारतलगायत विभिन्न देशमा यो भरिअन्ट फेला परिसकेको छ । प्रारम्भिक तथ्यांकले एवाई वान समेत भनिने यो भेरिअन्ट झनै संक्रामक रहेको डा. पौडेलले बताए ।

यद्यपि, कति धेरै  संक्रामक र प्राणघातक छ भन्ने पर्याप्त जानकारी नभएको उनले बताए ।

नेपालका विभिन्न भुभागबाट ४७ वटा नमुना संकलन गरी भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जिनोम स्विक्वैन्सिङ गरिएको थियो ।

सिक्वैन्सििङका आधारमा ४७ नमुनामध्ये ९ वटामा नयाँ भेरिअन्टको संक्रमण भएको पुष्टि भएको हो ।

यो भेरिअन्ट विभिन्न उमेरसमुहकामा देखिएको प्रवक्ता डा. पौडेलले हाम्रकुरालाई बताएका छन् । गोपनियताका कारण कुन कुन क्षेत्रका संक्रमितमा संक्रमण देखिएको हो भन्ने कुरा अहिले बताउँन नसकिने उनको भनाइ छ ।

नयाँ भेरिअन्ट देखिएकाहरुको अवस्था के कस्तो छ भन्ने जानकारी पनि आइनसकेको उनले बताएका छन् । 

नयाँ भेरिअन्ट देखिएकाहरुको कन्ट्र्याक्ट ट्रासिङ र अन्य परीक्षणलगायतका सबै कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।

केहीअघि बेलायती पत्रिका डेलीमेलले नेपाली भेरिअन्ट भन्दै यसै भेरिअन्टलाई उदृत गर्दै समाचार प्रकासन गरेको बताइएको छ । तर, यो भेरिअन्ट नेपालमा देखिनु अघि अन्य मुलुकमा देखिइसकेका कारण ठ्याक्कै कहाँ फेला परेको हो भनेर भन्न नसकिने मन्त्रालयले जनाएको छ ।

सुरुमा कोरोना भाइरस देखिएयता कोरोना भाइरसले हजारौं पटक स्वरुप परिवर्तन गरिसकेको छ । यीमध्येका केही स्वरुपहरु झनै खतरनाक हूँदै गएका छन् ।



लोकप्रिय समाचार
नयाँ