काठमाडौं। नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनलाई हरिप्रिया–प्रकाश फाउन्डेसनले स्वास्थ्य तथा सौन्दर्य सामग्री हस्तान्तरण गरेको छ।
काठमाडौं, ललितपुर, भक्तपुर सहित देशको विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गरेको फाउण्डेशनले बिहीवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत युनियनलाई स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण गरेको हो ।
फाउण्डेशनले नेपाल प्रेस युनियन केन्द्रीय समिति, कैलाली र तनहुँ जिल्लालाई सामाग्री हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा नेता पौडेलले नेपालमा कोरोना संक्रमण कसरी रोक्ने, लकडाउनमा जनतालाई राहत कसरी दिने अनि विदेश र सीमानामा रहेका नेपालीको पीडा बारेमा आफुले पार्टीको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराएको बताउँदै स्व हरिपृया भण्डारीले जीवित रहँदा छोटो समय मै सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा अनुकरणिय काम गरेको सम्झना साथ फाउन्डेसनको कामको प्रशंसा गरे।
कांग्रेस युवा नेता क्षितिज भण्डारीले आमाको स्मृतिमा केही थान पीपीई, एम ९५ मास्क, फेस सिल्ड, ५०० वटा नर्मल मास्क र स्वाास्थ्य सामग्री युनियनलाई दिए ।
सामाजिक दुरी सहित सम्पन्न संक्षिप्त कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साल, महासचिव अजयबाबु शिवाकोटी, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, सचिब दिपा आले, केन्द्रिय सदस्य कल्पना शर्मा, पत्रकारका नेताहरु शिव भट्टराई, ईन्द्र रिजाल, युवा जागरण अभियानका संयोजक चिन्तन पौडेल, रोजी ढकाल र भुबन भट्ट लगायत थिए।
फाउन्डेसनले सामाजिक सेवाभावले नेपाली तथा बिदेशी नागरिक, पत्रकार सहित १० हजार अनाथ, असाहय, बिपन्न, दलित अनि बिशेषतस् काठमाडौमा अड्किएका सुदुरपश्चिम र कर्णाली प्रदेशका वालवालिकालाई राहत बितरण गर्ने लक्ष्य अनुसारको बितरण जारी रहेको जनाएको छ।
स्वर्गीय भण्डारी राजनीतिसँगै साहित्यमा पनि सक्रिय थिइन् । नेपाल महिला संघ जिल्ला र केन्द्रमा नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै सांसद उम्मेदवार समेत भएकी थिइन् ।