वेपत्ता पत्रकार खड्काको निधन पुष्टि भएपछि प्रेस युनियनद्धारा शोक व्यक्त
प्रकाशित २०७७ असार १७ बुधबार
105
Shares
डोटी । वेपत्ता पत्रकार तेजु खड्काको निधन पुष्टि भएपछि नेपाल प्रेस युनियन डोटी शाखाले शोक व्यक्त गरेको छ । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको निधनप्रति दुख व्यक्त गर्दै युनियनले मृतक खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
डोटी शाखाका अध्यक्ष प्रकाश बमले एक शोक वक्तव्य जारी गर्दै संस्थापकलाई गुमाउनु पर्दा संगठन तथा पत्रकारिता जगतमा ठूलो क्षति पुगेको जनाएका छन् ।
खड्का २०७५ भदौ ९ गते बाजुरा जिल्लाको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको रिपोर्टिङ तथा दर्शन गरेर फर्किने क्रममा वेपत्ता भएका थिए ।
त्यसपछि २०७६ मंसिर उनको झोलासंगै पर्स र कंगाल भेटिएको थियो । उक्त कंगाल नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षण गर्दा मंगलवार सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शोक वक्तव्यमा ‘रिर्पोटिङमा हिडेका पत्रकार यसरि वेपत्ता हुनु, वर्षौंपछि कंगाल भेटिनु तथा कंगालसंगै फेला परेका केही सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिँदा घटनाप्रति गहिरो छानबिन हुनुपर्ने आवश्यकता खड्किएको छ’ भनिएको छ ।
‘प्रेस युनियनले घटनाको अध्ययन तथा प्रकृति हेर्दा पत्रकार खड्काको हत्या भएको आशंका गरेको छ’, वक्तव्यमा भनिएको छ,’ प्रेस युनियन जिल्ला शाखा डोटी मृतक पत्रकार खड्काको निधन भएको घटनाको सत्यतथ्य छानविन तथा गहिरो अनुसन्धान गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।’