पत्रकार महासंघ र एकोर्याबको नयाँ नेतृत्वमा युनियनको दाबी, बनायो तीन सदस्यीय समिति
प्रकाशित २०७७ फागुन १० सोमबार
282
Shares
काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आसन्न नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याब)को चुनावका लागि अन्य संगठनसँग वार्ता तथा सम्वादका लागि तीन सदस्यीय समिति निर्माण गरेको छ ।
हालै बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकको कार्यादेशअनुसार सोमबार बसेको सचिवालय बैठकले आफ्नो नेतृत्वमा सबै विचार एवं समूहलाई समेट्दै लैजाने अभिप्राय अनुरुप वार्ता तथा सम्वाद समिति बनाएको महासचिब अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।
केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र महासचिव अजयबाबु शिवाकोटी रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिले सोमबारदेखि नै विभिन्न संघसंगठनसँग वार्ता र सम्वादका लागि आफूहरु तयार रहेको जनाएको छ । अध्यक्ष सिग्देलले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सबै संगठनलाई साथमा लिएर अघि बढ्ने र नेतृत्व आफ्नो संगठनले लिने दाबी गरिसकेका छन् ।
महासंघले २०७७ फागुन ५ गते २६ औं महाधिवेशनको उद्घाटन गरिसकेको छ । नयाँ नेतृत्व चयनका लागि चैत्रको पहिलो साता देशभर एकैपटक निर्वाचना गर्दैछ ।