बाँके। राप्तीसोनारी गाउँपालिकाले १५ शैयाको अस्पताल बन्ने भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको बैजापुर स्वास्थ्य चौकीको स्तरोन्नती गरेर अस्पताल स्थापना गर्न लागिएको हो ।
अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको गाउँपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । यस्तै बैठकले हरेक वडामा १/१ जनाको दरले ९ वटै वडामा पशु प्राविधिक राख्ने निर्णय पनि गरेको उनले बताए ।
यसैगरी गाउँपालिका क्षेत्रमा रहेका ऐलानी जग्गा पनि ब्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि सबै वडामा ६ महिनाका लागि अमिनको ब्यवस्था गरिनेछ ।
गाउँपालिकाको सबै वडामा ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न टोली खटाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल सुरु गर्ने, चालु आर्थिक वर्षका योजना कार्यक्रम तत्काल गर्ने, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा कोसेली घर निर्माण गर्ने, राप्तीसोनारी बाटो ग्राभेल अभियान सबै वडामा सञ्चालन गर्ने लगायत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।