चाकु ' ए' बाट विस्थापितको आवाज समेटन गएका पत्रकारहरु चिनियाँ ठेकेदारका गुण्डाहरुबाट कुटिए
महासंघ र युनियनको बिरोध, कार्वाहीको माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
189
Shares
काठमाडौं। सिन्धुपाल्चोकको निमार्णाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात भएको बिषयले स्थानियदेखि केन्द्रमा रहेका संचारसंस्थाहरु समेत आक्रोशित भएका छन्। चिनियाँ कम्पनीले ठेक्का पाएको सो जलविद्युत आयोजनाले थुप्रै स्थानीयलाई विस्थापित गरेपछि पिडितहरुको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई पनि हातपात गरिएपछि आयोजनास्थलमा भइरहेको गुण्डागर्दी पनि बाहिर आएको हो ।
ठेकेदारबाट परिचालितहरुले विस्थापितहरुको आवाज दवाउने मात्र हैन उनीहरुको आवाज वाहिर ल्याउन चाहनेलाई पनि दुर्व्यवहार गरेको ३ जना पत्रकारलाई गरिएको हातपातबाट समेत देखिएको छ। अहिले आयोजनाका कारण नागरिकको उचित व्यवस्था समेत नभएको स्थानीयको गुनासो छ । असोज २७ गते सामाचार संकलन गर्न गएका गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईमाथि २०७७ असोज २७ गते आयोजनाका कर्मचारी र उनीहरुले पालेका गुण्डाहरुले हातपात गरेका थिए ।
यति मात्रै हैन्, उनीहरुले काठमाडौंबाट समाचार संकलनका लागि गएका पत्रकारहरुको सवारी साधन समेत तोडफोडको प्रयास गरेका थिए । सो घटनामा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ती निकाली बिरोध जनाएका छन् । 'अराजक समुहले पत्रकारमाथि गरेको निन्दनीय आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।' महासचिव रमेश बिष्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले पत्रकारमाथि आक्रमण गरेको थियो । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा, ' नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको ' उल्लेख छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पुर्याउने यस्ता घटनाको कडा भर्त्सना गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
त्यस्तै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले समेत विज्ञप्ती निकाली सो घटनाका बिषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । शिवाकोटीले जारी विज्ञप्तीमा अराजक समुहले पत्रकारहरुलाई हातपात गर्दै उनीहरु चढेको गाडीसमेत तोडफोड गर्न खोजेको घटनाले मौलाउँदो दण्डहिनतालाई देखाएको छ, जुन सभ्य समाजमा स्विकार्न नसकिने उल्लेख गरिएको छ । प्रेस युनियनले समेत असामाजिक तत्व तथा तिनलाई परिचालित गर्नेहरुलाई तत्काल आवश्यक कारवाही गर्दै स्वतन्त्र र भयरहित रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।