काठमाडौं। चीनमा पछिल्लो समय पत्रकार पक्राउका घटना बढ्दै गएका छन्। केहीअघि डिसेम्बर १६ का दिन चिनियाँ पत्रकार एवं फिल्म निर्माता डु बीनलाई त्यहाँका अधिकारीहरुले पक्राउ गरेका थिए। उनलाई झगडा तथा विवाद गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
चिनियाँ नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार अनुरुप डुलाई तत्काल रिहाई गर्न अन्तर्राष्ट्रिय पत्रकार संगठन (आईएफजे)ले आग्रह गरेको छ। ४८ वर्षीय डुले यसअघि न्युर्योक टाइम्सका लागि स्वतन्त्र फोटो पत्रकारका रुपमा काम गरेका थिए। बेइजिङ प्रहरीले डुलाई पक्राउ गरेको उनकी बहिनीले बताएकी छन् । यद्यपी पत्रकार पक्राउका पछाडि उनले सोभियत नेता भ्लादनिर लेनिनमाथि लेखिरहेको पुस्तकको कारण हुनसक्ने ठानिएको छ।
यो पुस्तक सन् २०२१ मा प्रकाशन हुने तयारीमा छ । साउथ चाइना मर्निंग पोष्टका अनुसार डुलाई राजनीतिज्ञ एवं यो क्षेत्रमा आधारित पुस्तकहरु प्रकाशन गरेको भन्दै छानबिनमा राखिँदै आएको थियो । यसबाहेक केहीअघि मात्रै उनका ट्विटरका पोष्टहरु समेत छानेर हटाइएको बताइएको छ । डुलाई कस्ता लेख एवं पुस्तक लेखेको छ भनेर सोधपुछ समेत गरिएको बताइएको छ । पछिल्लो समय चिनियाँ अधिकारहिरुले सामाजिक सञ्जाल एवं मिडियामाथिको नियन्त्रण बढाउँदै लगेका छन्।
कोरोना भाइरसको माहामारीका बेला दजर्नौं पत्रकारहरुलाई पक्राउ गरिएका घटनाहरु बाहिरिएका छन् । गत हप्ता चिनियाँ अधिकारीहरुले ब्लुमबर्गका बेइजिङ ब्युरोका पत्रकार हाजे फानलाई समेत पक्राउ गरेको आइएफजेले जनाएको छ । राष्ट्रिय सुरक्षा सम्बन्धी आरोपमा उनलाई पक्राउ गरिएको थियो । यसबाहेक चिनियाँ मुलकी अष्ट्रेलियन पत्रकार छेंग लिलाई समेत गत अगस्तमा चिनियाँ अधिकारीहरुले पक्राउ गरेका थिए । आईएफजेले पत्रकारको स्वतन्त्रता र प्रेस स्वतन्त्रताको दमनको अन्त्यको गर्दै डुलाई तत्काल रिहाई गर्न आह्वान गरेको छ।
ब्लुमबर्गका पत्रकार हाजे फानको रिहाईको माग गरेको विषयमा चीनले आन्तरिकमामिलामा नबोल्दै भन्दै वाह्य संघ संस्थाहरुलाई उल्टै चेतावनी दिएको छ। युरोपेली बाह्या एक्सन सर्भिसका प्रवक्ता नबिला मासर्लीले पक्राउ गरिएका सबै पत्रकारहरुको रिहाईको माग गरेका छन्। ब्लुमबर्गका प्रमुख इडिटर जोन मिक्लेथवेटले फानको सुरक्षाका लागि गम्भीरुपमा चिन्तित रहेको बताएका छन्।