हाम्राकुराका प्रधानसम्पादक शिवाकोटीसहित पाँच व्यक्तित्व सम्मानित
प्रकाशित २०७७ पुष १६ बिहिबार
131
Shares
काठमाडौं। पत्रकारिता, मानवअधिकार र साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीसहित विभिन्न क्षेत्रका पाँच व्यक्तित्वलाई सम्मान गरिएको छ ।
काठमाडौंको शान्तिवाटिकामा बिहिबार मेलमिलाप दिवसका अवसर पारेर तेज(तीर्थ ट्रस्टले आयोजना गरेको कार्यक्रममा पत्रकारिता, साहित्य र मानवअधिकारका क्षेत्रबाट गरी पाँच जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा हाम्राकुरा डटकमका प्रधान सम्पादक शिवाकोटी सहित पत्रकार निर्मला आचार्य, इतिहासविद् योगेन्द्रमान शाक्य, प्रजातान्त्रिक योद्धा शिव कंगाल र साहित्यकार नारायणदेवी छन । ट्रस्टले उनीहरुलाई प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादवको हातबाट नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रमपछि बोल्दै पूर्व राष्ट्रपति यादवले मुलुकमा अहिले पनि विपिले सुरु गरेको मेलमिलापको नीतिको उत्तिकै सान्दर्भिकता रहेको बताए ।
उनले वीपीले मेलमिलापको नीती सहित देश आउँदा क्षेत्रीय र राष्ट्रिय राजनीति सन्तुलित नभएको अवस्था रहेको भन्दै अहिले क्षेत्रीय राजनीति झनै जटिल अवस्थामा पुगेको बताए । यादवले दलहरुले पहिले आफ्नै पार्टीमा मेलमिलाप गरे मात्रै देशमा मेलमिलाप गर्न सक्ने ताकत राख्ने बताए ।
संविधान जारी गर्ने समयमा पनि सकसका साथ निणर्य लिएको भन्दै पूर्व राष्ट्रपति यादवले अहिले पनि दलहरुले जंगलमा पुगेको लोकतन्त्रको गाडीलाई राष्ट्रिय फोर्स मिलेर राजमार्गमा ल्याउनु पर्ने बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष समेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले वीपीको मेलमिलापको सिद्धान्त दलहरुले अनुसरण गर्नु पर्ने र देशका लागि निणर्य लिदा दलीय स्वार्थ भन्दामाथी उठेर निणर्मय लिनु पर्ने बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट हाम्राकुराका प्रधान सम्पादक शिवाकोटीले नेपाली राजनीति ध्रुविकरणको दिशाबाट अघि बढिरहेकाले एक दशक अघिकै बाटोमा मुलुक फेरी फर्कनु दुःखद् रहेको बताए ।
कार्यक्रमका सभापति एवम् ट्रष्टका अध्यक्ष तीर्थराम डंगोलले मुलुकको अभिभावकीय जिम्मेवारीमा आसिन वर्तमान राष्ट्रपतिविद्यादेवी भण्डारी नै दलको झगडा मिलाउने लमी जस्तो भएको भन्दै घर राम्रो बनाउँन मूलीले राम्रो अभिभावकत्व निर्वाह गर्नु पर्ने बताए ।
हरेक वर्ष ट्रस्टले आयोजना गर्ने गरेको यो कार्यक्रम विश्वव्यापी कोरोना संक्रमणका कारण यस वर्ष ढिला भएको हो । २०७१ सालमा स्थापित सो संस्थाले हरेक वर्ष विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ ।
यस वर्ष भने पुरस्कार छनोटको जिम्मा त्रिभुवन विश्वविद्यालयका नेपाल भाषा विभाग प्रमुख तथा साहित्यवीद् ओमकार श्रेष्ठ, वरिष्ठ पत्रकार जगत नेपाल र संस्थाका उपाध्यक्ष प्रधानलाई दिएको थियो ।