काठमाडौं। निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा-सञ्जालका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको छ।
बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ। प्रस्तावित १४ प्रतिशत बोनसपश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ। यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल कर्जा रु दुई खर्ब ११ अर्बभन्दा बढी पुग्नेछ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सिडिएस क्लियरिङ काउण्टर रहेको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेटस्, बहराइन, कुबेत, भारत, जोर्डनलगायत मुलुकबाट विप्रेषण भिर्याउँदै आएको छ। बैंकको वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताए।
उनले विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर-एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको उल्लेख गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीको सङ्कटको सारथी बनेको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बनेको बताए।