काठमाडौं । काठमाडौंमा हावाको गुणस्तर विश्वकै सबैभन्दा विषाक्त भएको पाइएको छ । सोमबार (पुस २० गते) विश्वकै सबैभन्दा विषाक्त हावा रहेको आईक्यूएयर डटकमले उल्लेख गरेको छ । संसारका मुख्य शहरहरुको रियल टाइम हावाको प्रदूषणबारे अध्ययन गर्ने वेबसाइटले यसबारेमा जानकारी दिएको हो ।
उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर सबैभन्दा प्रदूषितको शीर्ष स्थानमा रहेको छ । रातिसम्मै खराव देखिएको अवस्था मंगलबार बिहान भने सुधार आएको देखिएको छ ।
एक्कासी काठमाडौं खतराको सूचीको एक नम्बरमा आएपछि यस्तो अवस्थामा अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारीरिक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।
कस्तो थियो सोमबार काठमाडौं ?
काठमाडौंमा सोमबार बिहानैदेखि आकाश धुम्मिएको थियो । बिहानै फाट्फुट वर्षा पनि भएको थियो । आकाश धुम्मिएको थियो । अघिल्लो दिन न्यूनतम तापक्रम २ डिग्री रहेकामा सोमबार ९.५ डिग्री सेल्सियस रहेको थियो ।
तर हावाको कणमा मिसिएको विषाक्तले यति धेरै असर पारेको रहेछ । साँझपख अधिकांश घर भवनहरुका झ्यालका शिशाहरु फोहर देखिन्थे ।
सामान्यतया भारतको गाजियाबाद सबैभन्दा प्रदूषित शहर मानिन्छ । त्यस्तै चीनको होतान दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको गुजरनवाला तेस्रो तथा पाकिस्तानकै फैसलाबाद चौथो स्थानमा रहेको छ । भारतको दिल्ली पाँचौं तथा भारतकै नोयडा छैटौं स्थानमा रहेको छ ।
विश्वकै सबैभन्दा प्रदूषित देशमा भने बंगलादेश पहिलो, पाकिस्तान दोस्रो, मंगोलिया तेस्रो, अफगानिस्तान चौथो र भारत पाँचौं स्थानमा रहेको छ । नेपाल आठौं स्थानमा रहेको छ ।
सोमबार एक्कासी बिग्रिएको काठमाडौंको अवस्था मंगलबार बिहान ७ः४५ बजे भने सुधारिएको छ । विश्वकै खराब शहरहरुको सूचीमा काठमार्डौं ९६ औं स्थानमा पुगेको छ ।