काठमाडौं । आफ्नो कार्यकाल सकिन एक हप्तामात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पमाथि गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।
नयाँ राष्ट्रपति जो बाइडेनको जित घोषणा गर्ने कार्यक्रम चलिरहँदा ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त हिंसात्मक घटनामा ५ जनाको ज्यान गएको थियो । जसमा एक जना सुरक्षाकर्मीसमेत रहेका थिए ।
उक्त प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको छ । यही जनवरी २० तारिखमा ट्रम्प पदमुक्त हुँदैछन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले जनवरी २० मा सपथग्रहण गर्दै ह्वाइटहाउस छिर्दैछन् ।
स्वतः पदमुक्त हुने भए पनि एक सातामात्रै पदमा रहँदासमेत ट्रम्पले फेरि थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।
ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदले पनि महाअभियोग प्रस्तावकै पक्षमा मतदान गर्न सक्ने अनुमान गरिएको बीबीसीले लेखेको छ । पहिलो पटक लगाइएको महाअभियोग प्रस्ताव टुंगो लाग्न महिनौं लागेको थियो । यसपटक समय कम भएकाले तत्काल यसमाथि बहस र मतदान गरी टुंगो लगाउनुपर्नेछ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउनका लागि माथिल्लो सदन सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।