काठमाडौं । अमेरिकी ‘मूर्ख राष्ट्रपति’ को संज्ञा पाएका डोनाल्ड ट्रम्पलाई उनका आफ्ना भनिएका धेरै जसोले एक्लो बनाउँदै लगेका छन् । गत हप्ता आफूले चुनाव हारेको घोषणा अमेरिकी संसदमा हुँदै गर्दा समर्थकलाई उक्साएर संसद भवनमा आक्रमण गर्न लगाएका ट्रम्पमाथि एक हप्ताको समय छँदासमेत महाअभियोगको प्रस्ताव पेश भएपछि उनका आफ्नाले समेत छाड्दै गएका छन् ।
अत्यन्त क्रुर राष्ट्रपतिको रुपमा बदनाम कमाएका ब्यापारी ट्रम्पमा राजनीतिक संस्कारसमेत नरहेको पाइएको छ । सत्ता हस्तान्तरणमा गरेको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि उनका आफ्नाले राजीनामा दिएर असन्तुष्टि जनाएका छन् । उनीहरुले आफ्नो नैतिकता पनि देखाएका छन् ।
उक्त क्रममा क्यापिटल हिलका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिएका छन् । वुल्फले आफ्ना कर्मचारीलाई लेखेको पत्रमा भनेका छन्, ‘हालसालै भएको घटनाहरुका कारण मैले यो कदम उठाउनुपर्यो । जसमा अदालतमा मेरो कार्यकालको विषयलाई लिएर मुद्दा पनि चलिरहेको छ । यस्ता कुराहरुले सत्ता हस्तान्तरणको यो मुस्किल घडीमा आवश्यक कार्यबाट ध्यान बाँडिनेछ ।’
वुल्फको राजीनामा सोमबार मध्यरातिबाट लागू भएको छ । अब फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीको प्रशाकक पीट गेनरले उनको स्थानमा काम गर्नेछन् ।
यसअघि ट्रम्पका समर्थकहरुले क्यापिटल भवनमा आक्रमण गरेर ५ जनाको मृत्यु भएसँगै अमेरिकाको राष्ट्रिय सुरक्षा उप सल्लाहकार म्याट पोन्टिगर, प्रथम महिला मेलानिया ट्रम्पकी चिफ स्टाफ स्टेफानी ग्रिमश, ह्वाइटहाउसका प्रेस उपसचिव सारा म्याथूजले पनि राजीनामा दिएका थिए ।
यता, आफ्नो कार्यकाल सकिन एक हप्तामात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पमाथि गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।
नयाँ राष्ट्रपति जो बाइडेनको जित घोषणा गर्ने कार्यक्रम चलिरहँदा ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त हिंसात्मक घटनामा ५ जनाको ज्यान गएको थियो । जसमा एक जना सुरक्षाकर्मीसमेत रहेका थिए ।
उक्त प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको छ । यही जनवरी २० तारिखमा ट्रम्प पदमुक्त हुँदैछन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले जनवरी २० मा सपथग्रहण गर्दै ह्वाइटहाउस छिर्दैछन् ।
स्वतः पदमुक्त हुने भए पनि एक सातामात्रै पदमा रहँदासमेत ट्रम्पले फेरि थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।
ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदले पनि महाअभियोग प्रस्तावकै पक्षमा मतदान गर्न सक्ने अनुमान गरिएको बीबीसीले लेखेको छ । पहिलो पटक लगाइएको महाअभियोग प्रस्ताव टुंगो लाग्न महिनौं लागेको थियो ।
यसपटक समय कम भएकाले तत्काल यसमाथि बहस र मतदान गरी टुंगो लगाउनुपर्नेछ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउनका लागि माथिल्लो सदन सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।