काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड- माधव नेपाल समूहले नक्कल गरेको बताएका छन् । काठमाडौँमा एक कार्यक्रममा मन्त्री गुरुङले सो रणनीति सफल हुनै नसक्ने दाबी गरेका छन् ।
“ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ”, मन्त्री गुरुङले भने, “अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।”
उाले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताए । ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने । उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले प्रश्न गरे ।