प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधिसँग प्रेस युनियन’ कार्यक्रम गर्ने
प्रकाशित २०७७ माघ १२ सोमबार
232
Shares
बागलुङ। नेपाल प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधिसँग प्रेस युनियन’ कार्यक्रम गर्ने भएको छ । प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दशवटै स्थानिय तहमा उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । युनियनले जिल्लाका सबै स्थानियले हालसम्म गरेका गतिविधी र स्थानियस्तरमा देखिएका चुनौती र समस्याका बारेमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
‘युनियन जिल्लाका सवै स्थानिय तहमा पुग्ने छ । त्यहाँ भएका राम्रा नराम्रा गतिविधि बाहिर ल्याउने छौं आम नागरिकलाई सु–सुचित गर्नेछौं ' युनियन बागलुङका अध्यक्ष पन्तले भने, ‘यस कार्यक्रममा नागरिकको पनि प्रत्यक्ष सहभागिता रहने छ । स्थानिय तहमा भएका गतिविधिका बारेमा सवै कुरा नागरिकले पनि राख्न सक्नेछन्।’ जनप्रतिनिधिसँगको कार्यक्रम संचालनका क्रममा उठेका कुरालाई जिल्लाका विभिन्न संचार माध्यमबाट प्रशारण प्रकाशन गर्नुका साथै स्थानिय तहका गतिविधिको बारेमा पुस्तक नै तयार पार्ने पन्तले बताए ।
बैठकले कार्यक्रम संचालनका लागि आवश्यक तयारी गर्नका निम्ती युनियनका उपाध्यक्षद्धय संगम घर्ति मगर र सुवास आचार्यलाई जिम्मेवारी प्रदान गरेको सचिव नारायण रिजालले जानकारी दिए ।
बैठकले प्रेस युनियनका पुर्व सचिव एवं केन्द्रिय प्रतिनिधि विकास पौडेलको गत पौष २८ गते भएको दुःख निधनले सिंगो प्रेस युनियन र बागलुङका पत्रकारितामा ठुलो क्षती पुर्याएको भन्दै पौडेलप्रति शोक प्रस्ताव पारित गरेको छ । त्यसैगरी युनियनका केन्द्रिय प्रतिनिधि भवानी प्रसाद कंडेलका बाबु भवदत्त कंडेलको निधनमा प्रति पनि शोक प्रस्ताव पारित गरेको सचिव रिजालले जानकारी दिए ।