बीच सडकमै अमृतको हत्या गरि भाग्ने नेकपा कार्यकर्ता प्रकाश ऐडीको तस्विर सार्वजनिक
अपराधीलाई कार्वाही गर्न ढिलाई गरिए चुप लागेर नबस्ने तरुण दलको चेतावनी
किशोर तामाङ
प्रकाशित २०७७ माघ १४ बुधबार
388
Shares
बझाङ। बझाङ जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गर्ने नेकपाका फरार कार्यकर्ता प्रकाश ऐडीको प्रहरीले खोजी गरिरहेको जनाएको छ। छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको भतिज प्रकाशले काकाले प्रयोग गर्ने सरकारी बाईकमा गइ बीच सडकमा आक्रमण गरि सिंहको हत्या गरेका थिए। हत्या गर्ने क्रममा ऐडीलाई साथ दिने सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन्।
सिंहको हत्या गरि फरार रहेका प्रकाश ऐडीको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ। प्रहरीले पनि उनको तस्विर विभिन्न चौकीहरुमा पठाइ थप खोजविन गरिरहेको जनाएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलवार साँझ स्थानिय बजारको बीच सडकमै आफ्ना कार्यकर्ता सिंहको हत्या गरिएपछि तरुण दलले दोषीलाई तत्काल नियन्त्रणमा लिई कार्वाही गर्न माग गरेको छ। उसले थप संघर्षका कार्यक्रम पनि तय गरेको छ।
हत्या गरि फरार रहेका ऐडीका दाजु विकासलाई वडाअध्यक्षको टिकट सोहि जिल्ला घर भएका अनेरास्ववियूका संयोजक ऐन महरले दिलाएको स्थानियहरुले बताए । फरार अभियुक्त प्रकाश ऐडीको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।
बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका उनीहरुले नेपाल तरुण दलको स्थानिय नेता माथि सांघातिक आक्रमण गरि हत्या गरेकोमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कडा बिरोध जनाएका छन् । उनले दोषीलाई कार्वाही हुन ढीलाई भए तरुण दल चुप लागेर नबस्ने चेतावनी दिएका छन्।