काठमाडौँ । संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेसँगै नेकपा प्रचण्ड-माधव समूहले आम हडताल गर्ने तयारी गरेको छ । प्रचण्ड-माधव समूहले बिहीबार संवैधानिक निकायहरूमा जबरजस्ती नियुक्तिलाई लिएर आम हडताल गर्ने तयारी गरेको हो ।
कार्यक्रमको औपचारिक जानकारी नेकपा प्रचण्ड-माधव समूहले दिउँसो पत्रकार सम्मेलन गरेर दिँदैछ । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय संघर्ष समितिका एक सदस्यले बताए ।
गत मंसिर ३० गते संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई बुधवार बिहान शपथ लिएका छन् । सरकारले संवैधानिक आयोगहरूमा गरेको विवादास्पद नियुक्ति सिफारिसलाई राष्ट्रपतिबाट सदर गरी बुधवार शपथ ग्रहण गराएकी हुन् ।
प्रचण्ड- माधव पक्षको विरोधपछि पनि सरकारले विभिन्न संवैधानिक निकाय र आयोगहरूमा ३८ जना व्यक्तिको नियुक्तिका लाग सिफारिस गरेको थियो। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जनामध्ये ३२ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।