काँग्रेस -कम्युनिष्टको व्यवहार र कामबाट जनता आजित : कमल थापा
प्रकाशित २०७७ माघ ३० शुक्रबार
141
Shares
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमानदारिताको राजनीति अङ्गीकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् ।
अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा शुक्रवार हेटौँडामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा नेपाली काँग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हाबी भएको आरोप लगाए ।
उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गरे । जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्य त्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात् गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको संवर्द्धन गर्न र आर्थिक समृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकारात्मक भूमिका निर्वाह गरेको बताए ।