डोटी । डोटीको केआई सिंह गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो ।
आइतबार गाउँपालिकाको कार्यालय वायलमा बस पुर्याएर एक कार्यक्रमका बीच सेवा सञ्चालनमा ल्याएको हो । दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्र सम्म नियमित बस सञ्चालन हुनेछ ।
गाउँपालिकाको वडा नं. ४ वायल बाट हरेक दिन बिहान ८ः३० बजे धनगढी सम्मका लागि बस छुट्ने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले जानकारी दिए । १० किलोमिटर सडक कालोपत्रे भैसकेको छ भने १२ किलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको छ ।
दैनिक महंगो भाडामा दिपायलसम्म जीपमा यात्रा गर्ने यात्रुहरुले वायलबाट ६ सय पचासी रुपैंयाँ धनगढी र वायलदेखि कुलपाते सम्म १ सय साठि रुपैंयाँमा यात्रा गर्न पाउने भएका छन् ।
गाउँपालिकामा बस पुग्दा स्थानीयहरुले ठाउँठाउँमा बाजागाजा सहित फुलमाला अबिरले भब्य स्वागत गरेका थिए । गाउँपालिकामा पहिलो पटक बस पुगेकोमा स्थानीयहरु हर्षित भएका छन् । उनीहरुले कालोपत्रे हुन बाँकी १२ किलोमिटर सडक चाँडै कालोपत्रे हुनसके ढुक्कका साथ यात्रा गर्न पाउनेमा आशा ब्यक्त गरेकाछन् ।
बस केआइ सिंह गाउँपालिका पुग्ने खबर पाएपछि दुई घण्टाको पैदल हिडेर आइपुगेका ६० वर्षीय मीन बहादुर बम निकै प्रफुल्लित छन्। ‘आफ्नो गाउँमै यसरी बस पुग्दा निकै खुसी लागेको छ। गाउँपालिकामा बस आएको हेर्नलाई २ घण्टाको बाटो हिडेर आएँ,’उनले भने‘ अब आफू जस्ता बुढापाकालाई अब यात्रा गर्न सहज हुन्छ’ अब बस चढ्न दिपायल जानुपर्ने बाध्यता हटेकाले खुसी लागेको उनले बताए।
कार्यक्रममा बोल्दै शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले गाउँपालिकाका अध्यक्षको समन्वयमा नियमित बस सेवा सञ्चालन गरिएको बताए ।
उनले भने, ‘प्रालिले नाफा मात्रै नहेरेर यात्रुको सेवालाई समेत मध्यनजर गर्दै बस सेवा सञ्चालनमा ल्याएकाले स्थानीयले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । मलासिले आधि सडक कच्चि भए पनि डबल कटिङ भएका कारण बस नियमित सञ्चालन गर्न सकिने बताए ।’
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेयले आफुहरुले सुदूरपश्चिम लगायत देशैभरीका गाउँगाउँबाट यात्रुहरुलाई सेवा दिंदै आएको बताउँदै केआईसिंह गाउँपालिकाबाट पनि नियमित बस सेवा सञ्चालन गरिने बताए ।
उनले भने, ‘यात्रुहरुको विश्वास सद्रभाव र गाउँपालिकाको अठोटका कारण बस सेवा सञ्चानमा आएको बताए । उपाध्यक्ष पाण्डेयले बस सञ्चालनमा आएसँगै सडकको स्तरोन्नतीमा पनि सम्बन्धित निकाएको ध्यान जाने र गाउँपालिकाले पनि सडक स्तरोउन्नती गर्ने विश्वास ब्यक्त गरे ।’
घोषणा पत्र अनुसार काम भैरहेको छ: अध्यक्ष शाही
केआइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफुहरुले जारी गरेको चुनावी घोषणा पत्र अनुसार काम गरिरहेको बताए ।
उनले भने, ‘गाउँपालिकालाई सडक संजालसँग जोड्ने र नियमित बस सञ्चालन गर्ने कुरा घोषणा पत्रमा उल्लेख अनुरुप आज बस सेवा सञ्चालनमा ल्याएको बताए ।
शाहीले आफ्नो घोषणापत्र अनुरुप गाउँपालिकामा विकास निर्माणका कार्यहरु भैरहेकोले जनताले र प्रतिपक्षिले केआईसिंह सरकारका गतिबिधिको अनुगमन र मुल्याङ्कन गर्न आग्रह गरे । उनले आफुहरु जनताका सेवक भएकाले आफ्नो कार्यकाल जनताको हित, गाउँपालिको विकास र सेवा स्वच्छ सेवाभावले गरेको दावी गरे ।
उनले भने,‘ हामी लोकसेवा पास गरेर आएका ब्यक्ति होइनौ, हामी जनताले बनाएका जनप्रतिनिधि हौं । हामीले पाउने सेवा सुविधा जनताका लागि खर्च गर्नुपर्छ भन्ने मान्यताका साथ हिंडेका छौं । हामीले जनता र राज्य स्रोतको दोहन गरेका छैनौ ।’ राजपुर हुँदै बोगटानसम्म जोडीएको सडक कांग्रेसका पालामा कांग्रेसले नै गरेको र कालोपत्रेका लागि पनि कांग्रेस सत्तामा हुँदा योजना बनेको बताउँदै उनले मैले गरेको हुँ, हामीले गरेका हौं भनेर झुटा बोल्नका पछि नलाग्न आग्रह गरे ।
अध्यक्ष शाहीले आफु मोटर साइकलनमा हिडेर जनतालाई सहज रुपमा यातायात सेवा दिन लागेको बताए । उनी सरकारी गाडी नचढ्ने एक मात्र गाउँपालिकाका अध्यक्ष हुन् । उनले सरकारी मोटरसाइकलको मात्र प्रयोग गर्दै आएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष मिना विष्टले आफुहरुले घोषणा गरेका धेरैजसो कामहरु गरिसहेको दावी गर्दै बाँकी अधुरा कामहरु आफ्नै कार्यकालमा सक्ने बताइन् ।
‘जनतालाई प्रतिबद्धता गरेका अधिकांश कामहरु पुरा गरेकाछौं,उनले भनिन्,‘केही कामहरु गर्न बाँकी होलान् ति हाम्रै कार्यकालमा समापन गरिने छ, त्यो कुरा हामीले भन्नुभन्दा पनि जनताले मुल्याङ्कन गर्नसक्नु हुन्छ ।’