काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीले महत्वपूर्ण तीन अंक बटुलेको छ । यो सिजन खासै फर्ममा नदेखिएको चेल्सीले महत्वपूर्ण जित निकाल्ने क्रममा बिहीबार राति डिफेन्डिङ च्याम्पियन लिभरपुललाई उसकै मैदानमा पराजित गरेको छ ।
चेल्सीले लिभरपुललाई एनफिल्डको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे ।
खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले काँटेको पासलाई सदुपयोग गरेका थिए ।
यसअघि टिमो वेर्नरले २४ औं मिनेटमा गरेको गोल अफसाइड भएको थियो । यो जितले चेल्सीले ठूलो राहत पाउँदा लिभरपुललाई भने शीर्ष चारमा रहन पनि समस्या हुन थालेको छ ।
अंक तालिका
२७ खेलबाट ६५ अंकसहित म्यानचेस्टर सिटी शीर्ष, ५१ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो, ५० अंकसहित लेस्टर सिटी तेस्रो र ४७ अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ ।
४६ अंकबाट एभर्टन पाँचौं, ४५ अंकबाट वेष्टह्याम छैटौं तथा ४३ अंकबाट लिभरपुल सातौं स्थानमा छ ।