arrow

प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत चयन

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
prachanda-protest-2021.jpg

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रवार बसेको बैठकले पूर्व प्रधानमन्त्री दाहाललार्ई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

अध्यक्ष दाहाललार्ई दलका नेताका रूपमा अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने सांसद पम्फा भुसालले समर्थन गरेकी थिइन्  ।

सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतः नरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा शुक्रवार बैठक बसेको गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भर्त्सना र पुनर्स्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ ।

बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, सञ्चारकर्मीलगायतलार्ई धन्यवाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलार्ई असंवैधानिक ठहर्‍याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेको छ ।

दलको बैठकले सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको सहमतिको भने स्वागत गरेको छ । यस्तै ताप्लेजुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलार्ई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

 बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुरुङले जिकिर गरे । रासस



लोकप्रिय समाचार
नयाँ