काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएको जानकारी सातै प्रदेशका प्रदेश सभामा पठाएको छ ।
आयोगले गत आइतबारको सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै दुई दलबिचको एकतापछि बनेको नेकपा खारेज गरिएको र एमाले र माओवादी केन्द्र नै कायम हुने भन्दै सात वटै प्रदेश सभा सचिवालयलाई जानकारी पत्र पठाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा आयोगले बैठक बसेर दुई दल बिचको एकतापछि गठन भएको नेकपाको दर्ता खारेज गरिसकेकाले पुरानै दलको मान्यतामा रहने बारे सातै प्रदेशका प्रदेश सभालाई पत्र पठाउँदै जानकारी गराइएको बताए ।
आयोगले मङ्गलवार नै सङ्घीय संसद सचिवालयलाई समेत सो बारे जानकारीसहितको पत्र पठाएको थियो । आयोगले सङ्घ र प्रदेशका संसदलाई निर्णय पठाएसँगै अब सङ्घीय संसद र प्रदेश सभामा एमाले र माओवादी केन्द्रबाट निर्वाचित बनेका सांसदहरू फरक सिटमा बस्ने छन् ।