वीर अस्पताल र ट्रमा सेन्टरमा निर्देशकको खोजी, को–को छन् दौडमा ?
प्रकाशित २०७७ चैत १ आइतबार
179
Shares
काठमाडौं । देशकै ठूलो र पुरानो अस्पताल तथा स्वायत्त शैक्षिक संस्था चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र ट्रमा सेन्टरमा नयाँ निर्देशकको खोजी हुन थालेको छ । हालका दुवैतिरका निर्देशकहरु ब्यापक अनियमितता र भ्रष्टाचारमा लागेको भन्दै जताजतै उजुरी परेपछि नयाँ निर्देशकको खोजी हुन थालेको हो ।
प्रधानमन्त्री कार्यालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्री कहाँ अस्पतालकै कर्मचारी संघ संगठन र चिकित्सकद्वारा दर्जनौं उजुरी परेर छानविनको दायरामा रहेपछि प्रधानमन्त्री कार्यालयको निर्दशनमा यही फागुन १३ गते उक्त भष्ट्राचार समन्धित उजुरीलाई स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरी छानविन भैरहेको छ ।
वीरका निर्देशक डा. केदार सेन्चुरीको नियमित प्रक्रियाबाटै पनि समय अवधि पनि सकिँदै छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा १ बमोजिम आगामी बैशखा ४ गते साठी वर्ष अवधि पुगी उनले अनिवार्य अवकाश पाउँदै छन् ।
डा. सेन्चुरीको दुई वर्षे कार्यकालमा अनियमित कर्मचारी भर्ना, पैसा लिँदै नक्कली मेडिकल बोर्ड सिफारिश गरेको, मन लाग्दी मोबाइल र ल्याबटप खरिद, कोभिड उपकरण खरिदमा आफूनिकट कर्मचारीका भाइसँग महङ्गोमा खरिद गरी अनियमितता गरेको ,कोरोना महामारीमा पन्जा, ग्लोव, पीपीई, सेनिटाइजर महङ्गोमा खरिद गरेको, डोनेशनमा आएको सामान खरिद प्रमुख भगवती थपलियासँग मिली खरिद गरेको बिल बनाई करोडौं अनियमितता गरेको, अस्पताल अगाडिको औषधि पसल तीन वर्षदेखि बिना टेन्डर कमिसन लिँदै सञ्चालन गर्न दिएको लगायतका आरोप छन् ।
त्यस्तै दुवाकोटको विस्तारित वीर अस्पतालको डीपीआर आफूनिकटलाई दिन नपाएपछि ८० करोड बजेट फ्रिज गराएको, नयाँ सर्जिकल भवनलाई प्रतिष्ठान सेवाको ओएनएम सर्वे नगरेको, सो भवन सन्चालन गर्न कुनै चासो नदिएको, आफूनिकटलाई टेन्डर पार्ने एक पैसामा ट्रलि, हृइल चियर, बीपी सेट, भ्यु बक्स, सक्सन मेसिन, एक पैसामा अन्डा, जिरा, दूध, बिस्कुट लगायत सामानको टेन्डर सदर गरेको तर सो सामानहरू आपूर्ति नगरेको, सोही सामान आफूनिकटसँग महङ्गोमा कोटेशनमा खरिद गरी करोडौँ अनियमितता गरेको ओरोप छ ।
त्यस्तै २२ करोड रुपैयाँ पर्ने टोमोथेरापी ४६ करोड रुपैयाँमा किनेर २४ करोड भष्टाचार गरेको तर हालसम्म सो मेसिन सन्चालन नगरेको (मेसिन हाल सशस्त्र प्रहरी हलचोकमा छ), इन्टा अप सिटी १५ करोडमा पाउँदा पाउँदै २० करोडमा किनेको तर सन्चालन नगरेको, सामान्न खर्चमा मर्मत हुने सिटी स्क्यान, सि–आर्म, डिएसए,स्पेशल ऐक्सरे, मेमोग्राम, क्याथ ल्याव, इन्डोस्कोपी, फाइबर स्क्यान, अक्सिजन मेसिन प्लान्ट नबनाएको तर नयाँ किन्न सधै ब्यापारीसँग मिली आफैँलाई कमिसन दिने ब्यापारीलाई मिल्ने गरी स्पेफिकेसन बनाई मन्त्रालयमा बजेट मात्र माग गर्ने गरेको आरोप पनि छ ।
सो समन्धमा पनि छानविन भैरहेको छ । उनी नेकपा एमाले माधवकुमार नेपाली समूहका हुन् । उनी यसअघि पाल्पा, गुल्मी, दाङ, संखुवासभा, स्वास्थ्य सेवा विभागमा रहँदा पनि अनियमितता गरेको आरोप रहेको छ ।
अहिले पुनः म्याद थप गर्ने केही मेडिकल माफियालाई समाएर राष्ट्रपतिसम्म पुगेको, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई करोड बुझाएर भए पनि पुनः आउने खेलमा छन् । यसका लागि उनले केही ब्यापारीसँग पैसा उठाइरहेका छन् । सो पैसा स्वास्थ्य सचिव र मन्त्रीलाई बुझाउने तयारीमा रहेको एक वरिष्ठ चिकित्सक बताउँछन् ।
स्वास्थ्य सेवा ऐनको दफा ४५ को उपदफा २ अनुसार नेपाल सरकारले अत्यावश्यक भएमा ६० वर्षपछि पनि तीन वर्ष अवधि थप्न सक्नेछ भन्ने व्यवस्था लाई टेकेर पुनः म्याद थप्न उपकुलपति र स्वास्थ्य मन्त्री कहाँ फागुन १० गते नै निवेदन दिएका थिए । तर प्रतिष्ठान प्रमुख उपकुलपति र स्वास्थ्य मन्त्रीले उपकरण खरिद, मर्मत, कर्मचारी भर्ना, कोभिड उपकरण खरिद, औषधि पसलमा व्यापक अनियमितता गरेको र छानविनको दायरा रहेको, अस्पताल सन्चालन गर्ने नसकेको भन्दै उनको निवेदनमा कुनै कारबाही गरेको छैन । निर्देशक नियुक्तिलाई उपकुलपतिले सिफारिसपछि सहकुलपति स्वास्थ्य मन्त्रीले नियुक्ति गर्ने व्यवस्था छ ।
उपकुलपति डा. डिएन शाह भने योग्य र अस्पताल सन्चालन गर्ने सक्ने ब्यक्तिलाई सिफारिस गर्ने तयारीमा छन् जसमा पूर्व निर्देशक प्रा. डा. भुपेन्द्र बस्नेत, आकस्मिक विभाग प्रमुख डा. विष्णुबहादुर बस्नेत, नाक कान घाँटी विभाग प्रमुख डा. दिपेन्द्र श्रेष्ठ, डा. रमिला जोशी, डा. इन्द्रकुमार झा, प्रा. डा. सुधांशु केसी, डा. सन्जय ठाकुर, डा. रूद्र मरासिनी र डा. दिपक दत्त छन् ।
तर भीसी डा. शाह भने डा. भुपेन्द्र बस्नेत र डा. दिपेन्द्र श्रेष्ठलार्इ स्वास्थ्य मन्त्री कहाँ सिफारिस गर्ने तयारीमा छन् । अस्पतालका अधिकांश कर्मचारी र चिकित्सकहरु यिनैमध्येलाई सिफारिस गर्नुपर्ने आवाज उठाइरहेका छन् ।