arrow

भीम रावलले थाहा पाएपछि मोडियो नेपाल पक्षको यात्रा

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
nepal-khanal-cpn.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभाव पार्ने गरी संसदीय दलको बैठक बोलाएका थिए । सो बैठकमा नेपाल पक्षका नेताहरुले शुरुमा सहभागी नहुने बताएका थिए । 

बुधबारको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा जान नभ्याउने बताएका थिए । राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले संसदीय दलको बैठकमा जान नभ्याउने बताइए पनि बिहीबार माधवकुमार नेपाल र झलनाथ खनालले सांसदहरुलाई संसदीय दलको बैठकमा जान निर्देशन दिए । 

सो निर्देशनपछि गणेश पहाडी, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार लगायतका १० जना भन्दा बढी सांसदहरु बालुवाटार जान भन्दै सिंहदरबार नजिक पुगेपछि बालुवाटार नजान निर्देशन आयो । त्यसपछि सांसदहरु पुन ललितपुरस्थित कार्यकर्ता भेलास्थलमा पुगे ।

मधवकुमार नेपाल, झलनाथ खनाल र अमृत बोहोरा सहितको टिमले स्थायी कमिटी सदस्यबाहेक अन्य केन्द्रीय सदस्यहरु मात्रै रहेका सांसदलाई बालुवाटारको बैठकमा पठाउने निर्णय गरेको  थियो । 

यही कुरा जब भीम रावलले थाहा पाए त्यसपछि भने त्यहाँको माहोल नै अर्को बन्यो । उनले मूल नेतृत्व यहाँ बसेर केन्द्रीय सदस्यहरुलाई मात्रै त्यहाँ पठाउँदा त्यसको अर्थ नहुने, उनीहरुलाई त्यहाँ हेप्न सक्ने र आत्मसम्मानमा चोट पुग्ने बताएपछि भने सिंहदबार पुगिसकेका सांसदहरुलाई फिर्ता बोलाइएको थियो ।

रावलले सांसदहरुको आत्मसम्मानमा चोट पुग्ने बताएपछि गए पूरै नेतृत्वसहितको टिम जाने होइन भने कार्यकर्ता भेला अवधिभर कोही पनि नजाने निर्णय गरी बाटोमा पुगेका सांसद फिर्ता बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।

‘जाने हो भने हामी सबै जाउँ होइन भने केन्द्रीय सदस्य रहेका साथीहरुलाई मात्र त्यहाँ नपठाउँ यसले मूल नेतृत्वको गैरजिम्मेवारी देखाउँछ’, रावलले भनेका थिए।

यो विषयमा सांसदहरुले आफूहरुलाई दुःख दिएको गुनासो गरेपछि बिहीबार साँझ माधवकुमार नेपाल आफैले माफी मागेका थिए। ‘केही कारणवश सांसदहरुलाई बाटोबाटै फिर्ता बोलाउँदा साथीहरुको चित्त दुखेको हुनसक्छ यसमा म माफी चाहन्छु’ भन्दै नेपालले माफी मागेका थिए । 

उनले ‘मूल नेतृत्व यहाँ बसेर साथीहरु मात्रै त्यता जाँदा आत्मसम्मानमा ठेस पुग्ने देखिएपछि हामीले साथीहरुलाई फिर्ता बोलाएका हौं त्यसमा केही कमजोरी भएकै हो’ भनेर माफी मागेका थिए ।



लोकप्रिय समाचार
नयाँ