ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि यसो भने भीम रावलले
प्रकाशित २०७७ चैत ८ आइतबार
238
Shares
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई स्पष्टीकरण सोधेकोप्रति हाँँस्यास्पद भनी टिप्पणी गरेका छन् ।
उनले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हाँस्यास्पद र अवैध भएको बताएका हुन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले यो ओलीको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको समेत उल्लेख गरेका छन् ।
नेता वलले नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टीकरण सोध्नु हास्यास्पद र अवैध भएको बताएका हुन् ।
राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, रावलले लेखेका छन् ।
यस्तो निर्णयलाई आफूले कदापी नस्वीकार्ने रावलको भनाइ छ । शनिबार राति सामाजिक सञ्जालमा लेख्दै रावलले निर्वाचनमा जारी गरेका प्रतिबद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लघंन गर्दै फागुन २८ गते मनपरी निर्णय गर्ने जस्ता निर्णय किन गरेको भन्ने बारे ओलीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताए ।
शनिबार एमालेको केन्द्रीय समिति बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यो निर्णयको नेपाल समूहले राम्रैसँगै प्रतिकार गर्नेसमेत बताएको छ ।