मेस्सीको अर्को कीर्तिमान, बार्सिलोनाले बर्सायो आधा दर्जन गोल
प्रकाशित २०७७ चैत ९ सोमबार
208
Shares
काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा कप्तान लियोनेल मेस्सीको कीर्तिमानमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित हात पार्न सफल भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रिजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले एक गोल फर्काए ।
३६ मिनेटसम्म गोलको खडेरी खड्किएको खेलमा ३७ मिनेटदेखि बार्सिलोना आक्रामक भएको थियो ।
मेस्सीको रेकर्ड
यो खेलका लागि मैदानमा उत्रनासाथ मेस्सीले रेकर्ड बनाएका थिए । उनी बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।
मेस्सी बार्सिलोनाका लागि ७६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।
मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले ७६७ खेल खेलेका थिए ।