काठमाडौं । पाकिस्तानमा रोयल न्युज टिभी र डेली पुचानोका लागि काम गर्दै आएका अल्पसङ्ख्यक हिन्दु समुदायका पत्रकार अजय लालवानीको हत्या भएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) र यसको पाकिस्तान शाखा पाकिस्तान सङ्घीय पत्रकार सङ्घ (पीएफयुजे) ले तत्काल घटनाबारे निष्पक्ष छानबिन एवं अनुसन्धान गर्न माग गरेको छ ।
कपाल काट्ने पसलमा लाइनमा उभिएका बेला मार्च १७ मा सिन्ध प्रान्तको भित्री शहर सालेह पुट्ट साखरमा उनीमाथि गोली प्रहार भएको थियो ।
मोटरसाइकल र कारमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली चलाएर घटनास्थलबाट भागेका थिए । ३१ वर्षीय पत्रकार लालवानीको पाखुरा, पेट र घुँडामा गोली लागेको थियो ।
गम्भीर घाइते भएका पत्रकार लालवानीलाई उपचारका लागि साखरपुरको सिभिल अस्पतालमा लगिएको थियो । तर, दोस्रो दिन मार्च १८ मा उनको मृत्यु भएको थियो ।
घटनामाथि अनुसन्धानका लागि रोहरीका डिएसपी हजोर बक्स सोलगींको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ । प्रहरीले घटनाबारे प्रमाण संकलन गरिरहेको र प्रत्यक्षदर्शीहरूबाट समेत सूचना संकलन गरिरहेको बताएको छ । पत्रकार लालवानीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै पाकिस्तानमा प्रदर्शन समेत भइरहेको छ ।
पत्रकार लालवानी खास गरी पाकिस्तानमा हिन्दु र अन्य अल्पसङ्ख्यक समुदायको मुद्दा उठाउँदै आएका थिए । पाकिस्तान सरकारको अल्पसङ्ख्यक समुदाय प्रतिको पक्षपाती नीतिको आलोचना समेत उनले गर्दै आएका थिए ।
पीएफुयुजेका महासचिव राणा एम अजीमले सिन्ध सरकारले पत्रकारको रक्षा गर्न नसकेको बताएका छन् । तत्काल हत्याको छानबिन नभए देशव्यापी प्रदर्शन गर्ने चेतावनी समेत उनले दिएका छन् ।
आईएफजेका महासचिव एन्थोली बेलानगरले घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि पाकिस्तान सरकारसँग आग्रह गरेको छ ।