काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भंग गर्ने निर्णय संसद्मात्रै भंग नभइ संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको र नेपाली जनताको सार्वभौम अधिकारको अपहरण गर्ने प्रयास भएको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनपछि आफूहरुले त्यसका विरुद्ध संघर्ष गरेको र लाखौं जनता सडक संघर्षमा उत्रिएको स्मरण गरे । अन्ततः सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएर जनताले एउटा ‘ब्याटल’ जिते पनि ढुक्क हुने अवस्था नरहेको औंल्याए ।
अध्यक्ष प्रचण्डले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताए । ‘तपाईं हामी सबैको भाग्य, भविष्य, यो राष्ट्रकै भाग्य भविष्य, तपाईं हाम्रा सन्ततिहरुको भविष्य अहिले फेरि जोखिममा परेको छ, धरापमा पारिएको छ’ भने ।
नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको उनको भनाइ छ । गणतन्त्र, संघीयता समानुपातिक समावेशी व्यवस्था एकथरी मान्छेलाई पहिलादेखि नै पटक्कै मन नपरेको जनाउँदै उनले तिनीहरुले नै अहिले संविधान, लोकतन्त्रमाथि प्रहार गर्न थालेको बताए ।
लामो संघर्ष र धेरै नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गराउँदै उनले समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको बताए ।