टोकियो । जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ ।
टोकियोमा बुधबार दोस्रो पटक दैनिक संक्रमितको सङ्ख्या ४०० नाघेको हो । यसअघि अघिल्लो एकैदिनमा ४०९ जना संक्रमित भएका थिए ।
सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ संक्रमित थपिएका थिए ।
टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो ।
कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण संक्रमण थप फैलिएको दाबी गरेका छन् ।
पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ संक्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना संक्रमित भएका छन् ।
त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन् ।