काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार अत्यधिक धुवाँ मिसिएको वायु भित्रिएको छ । जसका कारण दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले दिउँसो २ बजे देखि भिजिबिलिटी राम्रो नभएका कारण विमानस्थल अवरुद्ध भएको बताएका छन् ।
विमानस्थल अवरुद्ध हुँदा हङकङबाट आएको विमान आकाशमै होल्ड गरिएको छ भने, अझै सामान्य स्थिति बन्न नसक्दा हङकङ नै फिर्ता हुने सम्भावना रहेको प्रवक्ता कर्णले बताए ।
अझै कति बेला विमानस्थल सञ्चालन हुन्छ भन्न नसकिने अवस्था रहेको उनले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक धुवाँ मिसिएको वायु भित्रिएको हो ।
काठमाडौंमा दुई तीन दिन अघिदेखि नै तुवाँलोको समस्या देखिएको र यस्तोमा वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक वायुमा समस्या भएको विभागले बताएको छ ।
मकवानपुर, चितवन, पर्सालगायतका जिल्ला र अन्य ठाउँमा डढेलो लागेको जानकारी आएको विभागले जनाएको छ ।
अचानक अत्यधिक वायु प्रदूषण हुँदा आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।