माओवादी केन्द्र आफैं अलमलमा : सरकारलाई दिएको समर्थन फिर्तामा अनिर्णीत
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १९ बिहिबार
81
Shares
काठमाडौं। प्रधानमन्त्री पदबाट केपी ओलीलाई बिदा गरेर नयाँ सरकार बनाउने कसरतमा अन्य दलसँग छलफलमा जुट्दै आएको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा अनिर्णीत बनेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेससहित जनता समाजवादी पार्टीसँग ओली सरकारको विकल्प बारे संवादमा जुट्दै आइरहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता बारे अझै ठोस निर्णयमा पुग्न नसकेको हो ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको अनौपचारिक स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भनिए पनि सो बारे तत्काल कुनै निर्णय नै नभई टुङ्गिएको छ ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय भई नसेको बताए । उनले केही दिनमा पुनः बस्ने स्थायी कमिटीको बैठकले सो बारे औपचारिक निर्णय गर्ने जानकारी दिएका हुन् ।
वर्तमान सरकारको विकल्प खोज्ने कुरामा आफूहरू प्रष्ट रहेको भन्दै श्रेष्ठले सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी दिएका हुन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवस्था र दलहरूका बीच भइरहेका संवादका बारे जानकारी दिएका थिए ।