काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन्। महासङ्घका अध्यक्ष शेखर गोल्छा सहित महासङ्घका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दीपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधि मण्डल बीच आज महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रूपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए। लगानीकर्ताहरूले कृषि, पर्यटन, जडीबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए। उनले लगानीकर्ता हरूसँग महासङ्घले सहजीकरण गर्ने पनि जानकारी गराए। छलफलमा महासङ्घका उपाध्यक्ष द्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो।
कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताए। उनले योजना आयोग र महासङ्घको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कर्णाली प्रदेशमा परियोजना बैङ्क बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए।