अध्यक्ष प्रचण्डले हिन्दी भाषामा सम्बोधन गर्दै भनेः नेपालको संविधान पूर्ण छैन
प्रकाशित २०७७ चैत २१ शनिबार
146
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले हिन्दी भाषामा सम्बोधन गर्दै संविधान पूर्ण नभएको बताएका हुन् ।
स्थानीयलाई बुझ्न सजिलो होस् र भारतबाट आएको पत्रकारहरूको सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको बताउँदै उनले संविधानप्रति पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्त्वपूर्ण विषय उल्लेख भएको बताए ।
‘संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपर्थ्यो, त्यति गरिएको छैन,’ उनले भने, ‘त्यसकारण मैंले असहमति राख्दै जनतासँग मिलेर सबै वर्गको हितको विषय समेटेर अघि बढ्ने शर्तमा संविधान घोषणा गरिएको थियो ।’ कार्यक्रममा उनले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गरेका छन् ।