काठमाडौं । मेची अञ्चलका उत्कृष्ट पत्रकारलाई बर्षेनी प्रदान गरिदै अएको आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका दुई पत्रकार पुरस्कृत भएका छन् ।
रेडियो नेपालवाणी एफएमका समाचार प्रमुख तथा नेपालसमाचारपत्र दैनिकका इलाम सम्वाददाता गणेश घिमिरे र रेडियो माङसेबुङका स्टेसन प्रमुख सुमन लावतीलाई बुधबार विहान एक समारोहविच पुरस्कार प्रदान गरिएको हो ।
साबिकको मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने क्रियाशील तथा उत्कृष्ट पत्रकारलाई प्रत्येक वर्ष बैशाख १ गते प्रदान गरिदै आएको पुरस्कार यसवर्षको लावतीलाई प्रदान गरिएको हो भने कोरोनाले गर्दा देशमा भएको लकडाउका कारण स्थगित २०७७ सालको पुरस्कार घिमिरेलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।
स्वर्गीय आशिष राईको १८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का कृषि मन्त्रि राम रानाले पत्रकार घिमिरे र लावतीलाई दोसल्ला, सम्मानपत्र र नगद दश हजार रुपैयाँ प्रदान गरेका थिए । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।
साविकको सुलुबुङ्ग गाउँ विकास समिति ३ इलाममा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतमले स्वर्गीय पत्रकार राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा जिसस प्रमुख गणेस बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पत्रकार महासंघ इलामका पूर्व सभापति सोम सुसेली, नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य, नेपाल प्रहरीका इलाम प्रमुख नबिन राई, बिभिन्न राजनैतिक दलका नेता तथा बिभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरुकोे उपस्थिति रहेको थियो ।