काठमाडौं । खेलकुदले सारा संसारका रीस, राग, द्धेश र क्लेश मेट्छ भनिन्छ । ठूला ठूला युद्द रोकिन्छ भनिन्छ । तर अझै पनि मतभेद भने रोकिएको छैन ।
विशेषगरी रङ्गभेद अझै रोकिएको छैन । त्यस्ता रङ्गभेदीलाई भने खेलकुदका निकायहरुले कडा कारबाही गरिरहेका छन् ।
पछिल्लो समय चेक रिपब्लिकको क्लब स्लाभिया प्रागका डिफेन्डर ओन्द्रेज कुडेला रङ्गभेदीको आरोपमा कडा कारबाहीमा परेका छन् ।
उनलाई १० खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिग फुटबलका क्रममा रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रङ्गभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध गरेको हो ।
गत मार्चमा भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग दौरान कुडेलाले कामरालाई दुर्व्यवहार गरेका थिए । उक्त खेल स्लाभियाले २–० गोल अन्तरले जित्दै समग्रमा ३–१ को जित निकालेको थियो ।
उक्त खेलका क्रममा कुडेलासँग अन्य दुई जना पनि कारबाहीमा परेका छन् । यूईएफएले कामरालाई तीन खेलको र रेन्जर्सका स्ट्राइकर केमार रुफलाई चार खेलको प्रतिबन्ध लगाएको छ ।