arrow

एमालेको एकता भाँड्न ईश्वर पोखरेल सक्रिय, बीचमा पुगेको सहमति किनारमा धकेलियो 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौं । विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै लागे पनि ईश्वर पोखरेलको पूरै टिम एकता हुन नदिन सक्रिय भएको छ । बुधबारदेखि शनिबारसम्म आइपुग्दा ओली–नेपालबीच फाटो ल्याउने काम पोखरेलको समूहले गरेको थियो । 

बुधबार साँझ ओली–नेपालको भेटपछि ओलीले साँझ वालुवाटारमा सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङसँग नेपाललाई पनि मिलाएर जाने संकेत गरेका थिए । गण्डकी प्रदेशमा मूख्यमन्त्री समेत रहेका गुरुङले नेपाल पक्षका नेता योगेश भट्टराईसँग भेटगरी पार्टी मिलाउन पहल गर्न आग्रह गरेपछि ओली नेपालको भेट भएको थियो । 

गुरुङले नै दोस्रो पुस्ताका नेताहरु कसैको पनि भविष्य राम्रो छैन दुवैलाई मिलाएर लैजानुको विकल्प छैन भनेर बुधबार दिउँसो भट्टराई र साँझ ओली–नेपालको भेट गराएका थिए । सोही भेटमा नेपाल पक्षलाई मिलाएर लैजान तयार भएका ओली विहिबार विहान भने ओलीको प्रस्तुति नेपाल समूहप्रति आक्रामक आएको थियो । 

विहान मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दा ओलीको प्रस्तुति आक्रमक आएपछि बेलुकीको कुरा बिहानै कसरी बदलियो भनेर विष्णु पौडेलले प्रधानमन्त्रीलाई सोधेका थिए ।

 ‘बेलुका त मिलाएर जाने कुरा थियो अहिले बिहानको अभिव्यक्ति किन फरक भयो कहाँ के भयो भनेर पौडेलले राखेको जिज्ञासामा ओली खासै बोलेका थिएनन् । तर बुधबार राती ११ बजेपछि ईश्वर पोखरेल लगायतको एउटा समूहले ओलीसँग भेट गरेपछि ओलीले तुरुन्तै कुरा मोडेका थिए । स्रोतका अनुसार ओलीलाई भेट्न बुधबार राती ईश्वर पोखरेल पुगेका थिए । उनीसँगै दुई जना अन्य नेताहरु पनि रहेको स्रोतको दाबी छ । 

पोखरेलको समूहले एकता भाड्ने खेल खेलेपछि अहिले पौडेल तथा गुरुङ निराश भएका छन् । ‘पौडेल र गुरुङका साथै नेपाल पक्षका घनश्याम भूषाल र योगेश भट्टराई मिलेर आफूलाई पाखा लगाउने डर भएपछि पोखरेलले पार्टी एकिकरण भाडेको स्रोतको दाबी छ । 

बिहीबारदेखि उनीहरुबीच कुनै कुराकानी हुन पाएको छैन । दुवै जना आफ्नै अडानमा रहेका कारण संकटको गाँठो झन् कसिएको छ । बुधबारको भेटघाटलाई बिहीबार पनि निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति नभएपछि संकटको गाँठो झन् कसिलो बनेको हो । 

बुधबार दुवै नेताहरु लचक देखिएका भए पनि बिहीबार बिहानबाट वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको  माधव नेपाल स्वंयले जनकपुरमा सञ्चारकर्मीलाई बताएका थिए । 

बुधबार ओलीसँग माधव नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर सबैलाई समेट्ने वातावरण तयार गरौ, माओवादीबाट आएका नेताहरुको पनि व्यवस्थापन गरौँ त्यसको वातावरण बनाउनुस म पनि साथीहरुसँग सल्लाह गर्छु अनि भेटघाटलाई निरन्तरता दिँदै जाने प्रस्ताव राखेपछि ओलीले पनि जेठ २ मा फर्कन आफू तयार भएको संकेत गरेका थिए । 

त्यतिमात्रै होइन नेपाललाई पार्टीभित्र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत बुधबार छलफल भएको थियो । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै रहने, संघीय सरकार र प्रदेश सरकारमा आएको अड्चन फूकाउन माधव नेपालले सहयोग गर्ने र माधव नेपाललाई पार्टीभित्रको व्यवस्थापनमा ओलीले कुन–कुन स्थानमा राख्ने भन्ने बारेमा साथीहरुसँग छलफल गर्ने भन्दै उठेर हिँडेका ओलीलाई ओली आफ्नो समूहमा रहेका पोखरेलले नेपाललाई तोकिएको स्थान दिन असहमत रहेपछि वार्ता भाँडिएको स्रोतको दाबी छ । 

आगामी  महाधिवेशनको क्रममा महाधिवेशन आयोजक कमिटीको संयोजक बनाएर जान सकिन्छ कि भनेर पोखरेलसँग प्रस्ताव राख्दा पोखरेलले तत्कालै आपत्ति जनाएपछि वार्ता भाडिएको स्रोतको दाबी छ । ‘माधव नेपालका सबै नेताहरु  ओलीतिरै आउने र नेपाललाई कुनै पद दिएर वा शर्तमा पार्टीभित्र ल्याउन नहुने धारणा राखेका रहेछन्’, स्रोतले भन्यो । 

बुधबार ओलीले मिलेर जान सकिने र जेठ २ मा फर्कनसक्ने संभावना रहेको बताएको र नेपालले पनि दोहोर्याएर यही विषयमा छलफल गरौ भनेपछि बिहीबारको वार्ता वैठक तय भएको थियो । तर विहिबार दिउसो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगको वार्तामा कुनै प्रगति भएको थिएन । 

ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफूले गरेको पछिल्ला कुनै पनि निर्णयहरुबाट पछि नहट्ने अडान लिएपछि कुनै प्रगति नभएको हो । नेता नेपालले एमालेलाई पुरानै अवस्थाको संरचना छ पहिला त्यो संरचनाको बैठक बस्छ त्यसपछि अन्य निर्णयहरु हुन्छन् त्यसकारण माओवादी एकिकरणपूर्वको अवस्थामा जाऔ त्यहीबाट थप निर्णय गरौँ भन्ने प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए । तर ओलीले फागुन २८ गते गरिएको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका थिए  । 

२०७५ साल जेठ २ अघि एमाले र माओवादी केन्द्रसँग एककिरण हुनुपूर्व एमालेमा दुई सय २१ जना केन्द्रीय कमिटी रहेको थियो । पार्टीको संरचना पनि अध्यक्षसहित बहुपदीय रहेको थियो । 

जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षहरु वामदेव गौतम, युवराज ज्ञावाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रहेका थिए । त्यस्तै महासचिवमा इश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल, घनश्याम भूषाल, सचिवहरुमा प्रदीप ज्ञावाली, योगेश भट्टराई, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट रहेका थिए । 

तर ओलीले फागुन २८ आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक राखेर सबै पदहरु खारेज गरी अध्यक्ष र महासचिव मात्रै रहने तथा महाधिवेशन आयोजक कमिटी बनाएर सबैलाई महाधिवेशन आयोजक कमिटी सदस्यमा रुपान्तरण गरेका थिए । 

साथै उनले विधान संशोधन गरेर निर्वाचन आयोग, अदालत लगायतका संवैधानिक निकायमा पत्रचार गर्ने हस्ताक्षर गर्ने अधिकार पनि अध्यक्षमा केन्द्रीत गरेका थिए । साथै एमालेको विधानमा ७० वर्ष उमेर कटेका नेताहरुले स्वेच्छिक रुपमा राजनीतिबाट अवकाश लिने प्राब्धान पनि हटाएका थिए । यसरी विधान संशोधन लगायतका बहुपद खारेज गरेपछि सबैभन्दा बढी मार्का नेपाल पक्षलाई परेको थियो । 

अहिले ओलीको यही निर्णयलाई नेपाल पक्षले सच्याउनु पर्ने माग गरेको छ । तर ओलीले यो विषय इन्कार गर्दै आएका छन् ।  ‘बुधबार यी निर्णयबाट पछि हट्ने संकेत ओलीले गरेको भएपनि पछिल्ला दिनमा उहाँ पछि हट्न सक्नु भएन’, ओली निकट स्रोतले भन्यो ।



लोकप्रिय समाचार
नयाँ