हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्लभ वन्यजन्तुको सिङ (अखेटोपार) २ थान र लागू औषध गाँजा २ केजी ४ सय ३५ ग्रामसहित १ जनालाई पक्राऊ गरेको छ ।
आइतबार इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी निरीक्षक सोरप छिरिङ तामाङको प्रहरी टोलीले हेटौँडा-९ बस्ने वर्ष २४ को सिद्धार्थ भण्डारीलाई पक्राऊ गरेको जनाएको छ ।
प्रहरीले भण्डारीको घर खानतलासी गर्दा सो परिमाणको लागू औषध र अखेटोपार फेला पारेको जनाएको छ । पक्राऊ परेका भण्डारीको साथबाट नगद २६ हजार ३ सय ५० समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
त्यस्तै मकवानपुर प्रहरीले लागू औषधका रूपमा प्रयोग हुने नाईट्रोभेटसहित २ जनालाई पक्राऊ गरेको छ । हेटौँडा १० बसपार्क स्थित सडकमा हिँडिरहेका बारा गढीमाई नगरपालिका-१५ बस्ने वर्ष १८ को सोमबहादुर तामाङ र नवलपरासी बन्जरीया-१ बस्ने वर्ष २३ को सन्देश तामाङलाई चेकजाँच गर्दा नाईट्रोभेट ४ सय ८० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राऊ परेकाहरूको आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।