काठमाडौं । कोरोना संक्रमणको गति उच्च हुँदै गएपछि सरकारले देशका आधा भन्दा बढी जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको छ ।
संक्रमण बढ्दो क्रममा रहेपछि सरकारले सोमबार विहानसम्म २९ जिल्लामा पूर्ण तथा १२ जिल्लामा आशिंक गरि ४१ जिल्लामा निषेधाज्ञा को आदेश जारी गरेको हो । गृह मन्त्रालयका अनुसार निषेधाज्ञा कायम गरिएका जिल्लाहरुमा अतिआवश्यक सवारी साधन बाहेकका सवारीहरु संचालनमा रोक लगाइएको छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार सोमबार दिउसोसम्म बाँके, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कंचनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्युठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
सल्यान, अर्घाखाँची, बैतडी र बझाङ जिल्लामा आजबाट निषेधाज्ञा लागू भएको । यस्तै कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेखमा २१ बैशाख (भोली) बाट निषेधाज्ञा जिल्लाभर लागू हुने छ । यसैगरी बाग्लुङ, बर्दिया, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा संक्रमणको अवस्था बढी भएका स्थान हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
सरकारले सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषद् बैठकमार्फत स्वीकृत गर्दै निषेधाज्ञाको निणर्य गर्ने अधिकार जिल्ला प्रसासन कार्यालयहरुलाई दिएको थियो । सोही अनुसार जिल्ला प्रसासन कार्यालयमार्फत जिल्लाहरुमा निषेधाज्ञाको आदेश जारी गरिदैं आइएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार अहिलेसम्मकै सबै भन्दा बढी ७ हजार २ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
यो संख्या नेपालमा देखिएको कोरोना संक्रमणको सबै भन्दा उच्च हो । दैनिक रुपमा यो संख्या बढ्दै जान थालेपछि सरकारले निषेधाज्ञामा थप कडाइ गर्ने नीतिसमेत लिएको छ । आइतबार १७ हजार ७ सय ७० जनाको स्वाबको नमुना परीक्षण गगरिएको थियो ।