नेपालको संविधान नेपाली भूमिमा मार्क्सवाद लागू भएको प्रमाण हो : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
356
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने संघर्षको एक उपलब्धीका रुपमा लिइएको औंल्याएका छन् ।
बुधबार कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो भने ।
उनले भने, ‘सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धता हुन सके कार्ल मार्क्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिन्छ ।’
उनले सन्देशमा भनेका छन्-कार्ल मार्क्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको छ ।
मार्क्सले प्रतिपादन गर्नुभएको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । मार्क्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भयो ।’
मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सारेको कुरा पनि उनले प्रष्ट पारेका छन् ।