झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टाका अर्का एक कोरोना संक्रमितको निधन भएको छ । वडाध्यक्ष ललितबहादुर तामाङले ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा निधन भएको जानकारी दिएका छ्न् ।
उनलाई गत बैशाख २४ गते शुक्रबार बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपश्चात् उनलाइ थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।
उपचारकै क्रममा शनिबार राति १० बजे उनको निधन भएको वडाध्यक्ष तामाङले बताएका छ्न् । मृतकको अन्त्येष्टि विराटनगरमै गर्ने तयारी भइरहेको छ ।
योसँगै मेचीनगरमा कोरोनाको दोस्रो लहर चलेयता निधन हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउने तीनै जना मेचीनगर नगरपलिका वडा नं ६ का हुन् ।
हालसम्म झापामा कोरोनाबाट १४९ जनाको ज्यान गएको छ । दोस्रो लहरबाट मात्रै २० जनाको ज्यान गइसकेको छ ।