काठमाडौं । कोरोना भाइरसलाई जैविक हतियारका रुपमा नै प्रयोग गरेको दाबी गरिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी विश्वभर फैलिएर लाखौंको मृत्यु भइसकेको अवस्थामा चीनमा भने निकै कममात्रको मृत्यु भएको छ ।
त्यस्तै ९० हजारमात्र संक्रमित भएका छन् । जबकि छिमेकी नेपालमा मात्रै चार लाखको हाराहारीमा संक्रमित भइसकेका छन् ।
अहिले जुन देशबाट कोरोना फैलियो त्यो देश अहिले यति सुरक्षित कसरी हुन सकेको छ भनी गम्भीर प्रश्न खडा भएको छ । कसरी चीनमा ६ देखि ८ महिनाको अवधिमा जिन्दगी सामान्य अवस्थामा आयो भन्ने चर्चा अहिले विश्वभर भइरहेको छ ।
विभिन्न सूत्रहरुका अनुसार एक नयाँ खुलासाले कोरोना भाइरसलाई लिएर चीनको उद्धेश्यमाथि अझ गहिरो शंका हुन थालेको छ । पछिल्लो रिपोर्ट सन् २०१५ को घटनाक्रमसँग जोडिएको छ । त्यो समयमा मानिसहरु कोरोना भाइरसबारे जानकार थिएनन् । त्यति नै बेला चीनले कोरोना भाइरसलाई हतियारका रुपमा प्रयोग गर्ने बारेमा जाँच गरिरहेको थियो ।
यतिमात्र हैन चिनियाँ सैन्य वैज्ञानिकहरुले तेस्रो विश्वयुद्ध जैविक हतियारबाट लडिने भविष्यवाणी गरेका थिए । अमेरिकी विदेश विभागलाई प्राप्त भएको गोप्य दस्तावेजलाई आधार बनाएर मिडिया रिपोर्टमा यो दाबी गरिएको हो ।
बेलायतको द सन पत्रिकाले अष्ट्रेलियाको समाचार पत्र ‘द अष्ट्रेलियन’ लाई आधार बनाएर अमेरिकी विदेश विभागलाई प्राप्त ‘बमसेल’ अर्थात् विष्फोटक जानकारी अनुसार चिनियाँ सेना पीएलएका कमाण्डरले यो पूर्वानुमान गरेका हुन् ।
चिनियाँ वैज्ञानिकहरुले सार्स कोरोना भाइरसको चर्चा ‘जैविक हतियारको नयाँ युग’ को रुपमा गरेका थिए । कोभिड–१९ यसको उदाहरण हो ।
पीएलएको दस्तावेजमा एक जैवित आक्रमणबाट शत्रुको स्वास्थ्य अवस्था ध्वस्त गर्न सकिन्छ भन्ने उल्लेख थियो । यो दस्तावेज अमेरिकी वायुसेनाका कर्णेल माइकल जेले अध्ययन गरेको समेत जिकिर गरिएको छ ।