झापा । कोरोना भाइरस संक्रमणका कारण झापाको गौरादह नगरपालिका २ नवाटोलीका ५५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणभइ होम आइसोलेशनमा रहेका उनको मंगलबार बिहान करिब ३ः०० बजे घरमै मृत्यु भएको गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी झापाको दमक नगरपालिकामा थप एक जना संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं ६ की ५५ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको दमक नगरपालिका नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
दमकको कोभिड अस्पतालमा उपचारका लागि लगिएका उनको स्वास्थ्यमा थप समस्या देखिएपश्चात् उनलाई थप उपचारका लागि विराटनगर लगिएको थियो ।
कोरोना भाइरसको दोस्रो लहरका कारण गौरादह नगरमा ३ जना र दमक नगरमा ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।