काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरसको महामारीको प्रकोप र नियंत्रणका लागि तत्काल अपनाउनु पर्ने रणनीति सम्बन्धी अपील जारी गरेको छ ।
नेविसंघको केन्द्रीय समितिको तर्फबाट महामन्त्री बलदेव तिमल्सिनाले अपील जारी गरेका हुन् । अपीलमा‘ अहिले कोभिड–१९ का बिरामीहरुलाई अक्सिजन अर्थात् प्राण वायुको ठूलो हाहाकारपछि अस्पतालहरु बेड, आईसीयू, भेन्टिलेटर लगायतको अभावमा बिरामी भर्ना नसकिने अवस्थामा पुगिसकेको, अस्पताल पाउँदा मात्रै बाँच्न सक्ने बिरामी पनि बेड खोज्दाखोज्दै ज्यान गुमाउन विवश छन्, सिकिस्त बिरामीले शय्या भेट्न कि उपचाररत कोही निको भएर घर फर्कनुपर्छ कि कसैको निधन हुनुपर्छ, मृत्युदर आकासिँदो छ, निजी मात्र होइन देशैभर सरकारी अस्पतालले समेत बिरामीका आफन्तलाई ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने ब्यहोराको मृत्युको कबुलियतनामा रुपि कागज गराउन थालेका हुँदा स्थिति अत्यन्त भयावह भएको र सबैले गम्भीर बन्नुपर्ने अबस्था आएको’ भनिएको छ ।
त्यस्तै परिस्थिति हाम्रो संयन्त्रको बुताबाहिर गैसकेको भन्दै स्रोतसाधनको कमीले मात्र यो अवस्था आएको नभइ सरकारसित व्यवस्थापन कौशल नहुनु नै यसमा जिम्मेवार भएको भन्दै यो संकटबाट मुक्ति पाउन युद्धस्तरमा प्रतिकार्य गर्नुको विकल्प नभएकाले यसका निम्ति सरकारले आफ्नो सम्पूर्ण शक्ति व्यवस्थापनमा लागाउन र केन्द्रित हुन आग्रह गरिएको छ ।
‘लामो समयदेखि महामारीको नियन्त्रण, ब्यबस्थापन र उपचार सम्बन्धी आबश्यक प्रबन्धमा चुकेको र केबल भ्रष्टाचारमा लिप्त वर्तमानमा औचित्यविहीन बनेको सरकारको एकल प्रयत्नले अहिलेको अवस्थाबाट सजिलै मुक्ति नपाउने देखिइसकेकोले यो महासंकटको घडीमा चीनसहित अरू छिमेकी–मित्र मुलुक र अन्तर्राष्ट्रिय समुदायसित सार्थक सहयोगको अपिल गर्न बिलम्ब नगरौं’, अपीलमा भनिएको छ ।
नेविसंघको अपीलमा, ‘सरकारले मूलतः तत्काल सिकिस्त संक्रमितहरूको ज्यान जोगाउन यथोचित उपचारको बन्दोबस्त र संक्रमणको अवस्था अझै भयावह हुन नदिन धेरै नागरिकलाई खोप पनि लगाउनको निम्ति सबै मुलुकसित सहयोग लिनपर्नेमा सरकारको ध्यान भने भारत भन्दा अन्त जान नखोज्नु रहस्यमय भन्दै आफैं ठूलो संकटबाट गुज्रिरहेका बेला भारतबाट यो कति सम्भव हुन्छ, त्योविचार पुर्याउन नेपालका प्रधानमन्त्री लगायतका उच्च नेतृत्वले कत्ति पनि ढिलाइ नगरी कुटनीतिक अग्रसरता देखाइहाल्नुपर्ने’ भनिएको छ ।
त्यसैगरी हाल भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिइरहेको, अक्सिजनको अभावले स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्ने, आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् भने अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि आउने दबाब थेग्न नसकेको स्थिति छ। बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्दा सबैलाई लज्जित बनाएको पनि अपीलमा भनिएको छ ।
अपीलमा संकटमा कोही गम्भीर नभएको भन्दै यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गैरहेको आजको अवस्थामा संक्रमण देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेकाले आगामी दिनमा कसरी तयारी गर्ने भन्ने योजनासमेत भएन । त्यसैले स्वास्थ्य क्षेत्र अहिलेको अवस्थामा पुगेको हुँदा अब आफ्ना जनता कसरी बचाउने भन्ने नै अहिले सबैको प्राथमिकता बन्नु पर्ने भएकोले अहिले चलिरहेको सत्ताको फोहोरी खेलबाट बाहिर निस्केर जनता बचाउने अभियानमा सहभागी बन्न, राजनीतिक जोडघटाउमा नलागी एकै ठाउँमा उभिएर महामारीविरुद्ध जुट्न आफ्नो मातृ पार्टी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दल र शीर्ष नेतृत्व, सरकार, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था लगायत सबैमा हार्दिक अपील गरिएको छ ।
साथै नेविसंघले नेपाल र नेपालीले बेहोर्नु परेको यो बिकराल स्थितिबाट बाहिर निस्कन आवश्यक सबै खाले सहयोगको निम्ति पनि अन्तर्राष्ट्रिय समुदाय, गैरआवसीय नेपाली, नेपाली जनसम्पर्क समिति, राजनीतिकर्मी, सबै भतृ तथा शुभेक्षुक संस्थामा आबद्ध नेताहरु र देश विदेशमा रहेका नेविसंघमा आवद्द सबैमा हार्दिक अपिल गरेको छ ।